बहुदल पक्षधर हुँदा: हेमन्त कर्माचार्य


वि.सं.२०३६ मा तत्कालीन राजा वीरेन्द्रबाट जनमत संग्रह घाेषणा भयाे । `सुधारिएकाे पञ्चायती व्यवस्था कि बहुदलीय व्यवस्था´ राेज्न अाव्हान गरिएकाे जनमत संग्रहमा तत्कालीन निर्दलीय व्यवस्थाका पक्षधरबाट इतर विचारकालाई गरिने व्यवहार, दमनका विरूद्ध हामी केही युवा नजानिँदाे ढंगले लागिसकेका थियाैं । साेही कारणले बहुदलका पक्षमा जनमत जुटाउन सक्रिय पनि भयाैँ ।
एक समूह ६ जनाजति बाँके, राप्ती किनार हुँदै कालीमाटी काल्चे (सायद सुर्खेत) सम्म प्रचारमा हिँड्याे ।

बहुदलकाे पक्षमा प्रचार गर्दै हेमन्त कर्माचार्य, फाेटाे र स्टाेरी फेसबुकवालवालबाट

म र प्रमाेद श्रेष्ठ दुई जना बाँके, बर्दिया राजापुर हुँदै कैलालीकाे मलवारा मुद्धी क्षेत्रसम्म प्रचार गर्दै पुग्याैँ । गेरू पानीमा सानाे काठकाे डण्डीमा कपडा बेह्रेर बनाइएको कूचीले भित्ते लेखन, स-साना छापिएका प्रचार सामग्रीलाई गाेबरले भित्ता वा ठूला रूखमा टाँस गर्दै हामी हिँडेका थियाैँ ।
त्यही बेला हाे । अर्धभूमिगत घाेषित कम्युनिष्ट नेता माेहन विक्रम सिंह (एमबी सिंह) पनि कैलाली पुग्नु भएकाे रहेछ । उहाँले बहुदलका पक्षमा हामीले टाँसेका प्रचार सामग्री च्यात्दै तथानाम गाली गर्दै रहेकाे पछि हामीले बुझ्दै जाँदा थाहा पायाैँ । सिंहकी पहिलाे धर्मपत्नी शान्ता सिंह पुछरीमा बस्नु हुन्थ्याे । उहाँ अाफ्नाे छुट्टै पहिचान दिएर शिक्षण कार्यमा संलग्न हुनुहुन्थ्यो । पुछरीस्थित हिमालय मा.वि.(त्यसबेला सायद निमावि थियाे)मा शान्ताजीलाई शिक्षण कार्यमा संलग्न गराउनमा बुबा जनकबहादुर कर्माचार्य, ज्ञानबहादुर शाही लगायतकाे सहयाेेगी भूमिका रहेकाे थियाे । एमबी सिंहले बीपी काेइराला र कांग्रेस बहुदलका पक्षमा लागेका कारण पनि घाेर विराेध गर्दै हिँडेका थाहा भयाे । जनमत संग्रहका समयमा तत्कालीन पञ्च नेतासँग हिमचिम बढी कम्युनिष्टकै रहेकाे थियाे ।
२०१७ पछिका दिनमा तत्कालीन दरबारबाट हण्डी लिँदै पञ्चायती व्यवस्था इतरमा लागिरहेकालाई अ.त. घाेषित गराउँदै तिनीहरूका बारेमा शासक पक्षलाई सुराकी गर्ने काम गर्नेहरू कम्ति थिएनन् ।

त्यसमा तुलनात्मक कांग्रेस भन्दा वामपन्थीहरू नै धेरै रहेकाे इतिहास साक्षी छ । त्यस्ता जाली, धूर्त, पाखण्डीहरू राजाकालमा मात्र नभई बहुदल पुनर्स्थापनापछिका विभिन्न कालखण्डमा लाेप भएनन् । भाइरसझैँ सत्ताकाे निकट भएर केही कांग्रेस, केही कम्युनिष्ट, केही मधेश केन्द्रित दलभित्रसम्म लेस्सिँदै लाभ उठाउने र संक्रमण फैलाउँदै क्षति गर्न कुनै कमी राखेनन् । नेतृत्व पक्षबाट त्यस्ता भाइरसलाई समयमै उपचार गर्नुकाे साटाे चाकडीकाे अानन्दमा मस्त हुनुकाे परिणाम हाे-२०४६ पछिकाे तीन दशक निराशाजनक नै रहेकाे अनुभूति अामनागरिकलाई भएकाे छ ।
बैशाख १६, २०७७ ।
नेपालगञ्ज ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *