नरैनापुरमा प्रथम अध्यक्ष कप रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता सुरु

बाँके । बाँकेको नरैनापुर गाउँपालिकामा आज(शुक्रबार)देखि नरैनापुर गाउँपालिका स्तरीय प्रथम अध्यक्ष कप रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । दुई दिनसम्म चल्ने प्रतियोगिताको प्रमुख अतिथि बाँके क्षेत्र नम्बर १ का संघीय सांसद् महेश्वरजंग गहतराज अथकले उद्घाटन गर्नुभयो ।

गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहको सभापतित्व तथा प्रदेश सांसद् कृष्णा केसी नमुनाको विशिष्ट आतिथ्यतामा भएको उद्घाटन समारोहमा प्रमुख अतिथि अथकले नरैनापुरलाई विकासको मूल प्रवाहमा ल्याउन आफू लागिपरेको बताउँदै शिक्षाको गुणस्तर सुधारका लागि स्थानीय जागृत हुनुपर्नेमा जोड दिनुभयो । विशिष्ट अतिथि प्रदेश सांसद् नमुनाले बघौडाको विकास आफ्नो मुख्य प्राथमिकता भएको भन्दै बिस्तारै विकास देखिन थालेको बताउनुभयो ।

गाउँपालिका अध्यक्ष शाहले विद्यार्थीहरुको शारीरिक, मानसिक र सर्वाङ्गीण विकासका लागि खेलकुद जरुरी रहेको भन्दै गाउँपालिकाले खेल क्रियाकलापलाई प्राथमिकतामा राखेको बताउनुभयो । उद्घाटन समारोहमा शिक्षा विकास तथा समन्वय इकाई बाँकेका प्रमुख रामसुरेश यादव, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खराल, वडा नम्बर ३ का अध्यक्ष राजकुमार मौर्य, जयकिसान मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बृजेन्द्र कुमार यादव लगायतले यसखाले प्रतियोगिता खेलाडी उत्पादन गर्ने नर्सरी भएको बताउनुभयो ।

वडा नम्बर ६ भोजपुरस्थित जयकिसान माविको प्रांगणमा सुरु भएको प्रतियोगितामा गाउँपालिकाभित्र रहेका तीन वटा माविका कक्षा ९ देखि १२ कक्षासम्मका विद्यार्थीहरुले भाग लिएका छन् । तीन विद्यालयका ८९ जना विद्यार्थी सहभागी प्रतियोगितामा १०० मिटर दौड छात्रछात्रा, २०० मिटर दौड छात्रछात्रा, लङ्गजम्प, हाईजम्प, कबड्डी, भलिबल लगायत १५ इभेन्ट खेलाइनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *