नेकपाले आज ‘जनयुद्ध’ दिवस मनाउँदै

 सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आज तत्कालीन नेकपा माओवादीले जनयुद्ध सुरु गरेको दिनको स्मरण गर्दै याे दिवस मनाउने भएको हाे  ।

तत्कालीन नेकपा माओवादीले २०५२ सालमा सशस्त्र युद्ध सुरु गरेको दिन अर्थात् फागुन १ गतेलाई जनयुद्ध दिवसका रुपमा मनाउँदै आएको थियो । तर, तत्कालीन माओवादी र तत्कालीन एमालेबीच पार्टी एकीकरण भएपछि यो दिनलाई जनयुद्ध दिवस नभनी जनआन्दोलन र  जनयुद्धका शहीदहरुप्रति श्रद्धाञ्जली कार्यक्रम नाम दिएर मनाउन लागिएको हो ।

पार्टी एकीकरणपछि जनयुद्ध दिवस मनाउने कि नमनाउने भन्नेमा अन्योल थियो ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच जनयुद्ध दिवस नभनी जनआन्दोलन र जनयुद्धका शहीदहरुप्रति श्रद्धाञ्जली नाम दिएर यो दिवस मनाउने सहमति भएको हो ।

सोहीअनुसार नेकपाले आज पार्टी कार्यालय धुम्बाराहीमा एक कार्यक्रमसमेत आयोजना गर्दै छ । कार्यक्रममा नेकपाका अध्यक्ष दाहाल सहभागी हुने कार्यक्रम छ । तर प्रधानमन्त्री ओली भने कार्यक्रममा सहभागी नहुने बताइएको छ ।

दुई पार्टीबीच एकताका क्रममा पार्टीको प्रस्तावनामा जनयुद्ध शब्द राख्ने विषयमै विवाद भएको थियो ।

सुरुवातमा जनयुद्धको स्थानमा जनक्रान्ति शब्द राख्न प्रस्ताव गरेको एमाले पछि हटेको थियो । पार्टी एकताको विधानमा भने जनयुद्ध शब्द राखिएको छ । स्थानीय कमिटीलाई समेत दिवस मनाउन नेकपाले निर्देशन जारी गरेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *