म प्रहरी अनि तपाई आन्दोलनकारी !

संघर्ष राजकुमार महतारा

तपाईलाई सानो चोट लाग्दा पत्रपत्रिका,अन्लाईन खबर र टेलिभिजनमा प्रमुख समाचार बन्छ।
तपाईमाथि सोधपुछ हुन्छ अनि केहि समयको लागी थुनछेक हुन्छ तर अवसोच ठुला ठुला मन्त्रीहरुको फोन आउन थाल्छ…
बिचरा म के जवाफ दिउ… तपाईलाई छोड्नु बाहेक अरु केहि विकल्प रहदैन।
तपाईले हानेको ढुङ्गाको टुक्राले मेरो टाउको र गर्धनमा लाग्दा तपाई कति खुसी हुनुभयो!

मेरो टाउको फुट्यो रगत बग्यो तपाइलाई शान्ती मिल्यो?
तपाईलाई तपाईको जित माग र अधिकार भयो है?
तपाईले हानेका ढुङ्गाका टुक्राहरुबाट जोगिन म कुक्रुक्क भएर प्लास्टिकको सिल्डमा छेकिदा तपाई अझै हौसिदै ईटाले प्रहार गर्नुहुन्छ।
तपाई स्वतन्त्र हुनुहुन्छ..
स्वत:स्फुर्त
तर मलाई तपाईसङ प्रतिकार गर्न पनि आदेश चाहिन्छ त्यो नि माथिको…
म चुपचाप तपाइले गरेको प्रहार सहिदिन्छु किनकि मैले तपाईंलाई प्रहार गरेभने मानव अधिकार उलंघन हुन्छ,शक्तिको दुरुपयोग हुन्छ,कैयौ क्यामेराका लेन्सहरु म तिर फर्किन्छन।

भिड नियन्त्रणको गरुङ्गो ड्रेसमा हातमा लाठी र सिल्ड लिएर तपाइँले हानेका ढुङ्गाका टुक्राहरु छेकिरहदा तपाइले कहिले सोच्नुभएन कि म बिहानै देखी भोको पेट लिएर तपाईको प्रहारहरु सहिरहेछु,तपाईको सुन्नै नसकिने तुच्छ गालिहरु सहिरहेछु। चुपचाप…

तपाईको बिषय अरुसँँग हुन्छ
तपाईको रिस अरुसँँग उठ्छ,
तर त्यो रिस मलाई पोख्नुहुन्छ!

थाहा छ,तपाई कुरा बुझ्नुहुन्छ
तर बुझेर पनि बुझ पचाउनुहुन्छ!!

के तपाईलाई थाहा छैन र मेरो पनि परिवार छ?
घरमा रोगि बुढा बाआमा छन,सानासाना लालाबाला छन,
जिम्मेवार बोकेकी जहान छिन..
यि सबैलाई छाडेर तपाईको रक्षार्थमा खटिएको छु

महाशय
भुकम्प गयो!
भुकम्पले मेरो पुरै घर भत्कियो र पनि म घर जान पाइन किनकी मलाई तपाईका भत्किएको घरका सामानहरु निकाल्नु थियो।
बाढी गयो!!

मेरो पुरै घर बाढि पसेर तहसनहस गर्यो तर म घर जान पाइन किनकी मैले तपाइँको घरमा पसेको बाढिबाट तपाइको परिवार बचाउनु थियो।
हरेक साल दशै आउछ तिहार आउछ तपाई हासिखुसी परिवारसँँग चाडवाड मनाउनुहुन्छ र म त्यो नि पाउदिन किनकी मलाई त्यो बेला झनै चनाखो भएर बस्नुपर्छ ताकी तपाईहरुलाई केहि नहोस….
के रिस तपाईलाई मात्र उठ्छ?
के हृदय तपाईको मात्र छ?

महाशय! एकपटक बिचाराधिन हुनुहोस!
म पनि तपाईजत्तिकै उत्तेजित भएभने के होला??
म पनि तपाई जत्तिकै असंयमित भएभने के हुनसक्छ??

Leave a Reply

Your email address will not be published. Required fields are marked *