मुलुककै उत्कृष्ट शैक्षिक हव बनाउने प्रदेश सरकारको तयारी: मुख्यमन्त्री

दाङ । मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश ५ लाई मुलुककै उत्कृष्ट गन्तव्य बनाउने बताउनुभयो । घोराही–१८ स्थित मावि रझेनाको भवन उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले भन्नुभयो, ‘कृषि र पर्यटनसँगै प्रदेश ५ लाई मुलुककै उत्कृष्ट शैक्षिक हव बनाउने प्रदेश सरकारको तयारी रहेको छ । यसैमा हामी जुटेका छौं ।’

कानुन निर्माण र अपेक्षित आर्थिक बृद्धिदरको लक्ष्य भेटाउने कार्यमा सफलता हासिल गरेको भन्दै मुख्यमन्त्री पोख्रेलले अब शैक्षिक विकासलाई पनि प्राथमिकतामा राखेर अगाडि बढ्ने बताउनुभयो । प्रदेश ५ मा नेपाल संस्कृत विश्वविद्यालय र लुम्विनी विश्वविद्यालय रहेको भन्दै मुख्यमन्त्री पोख्रेलले यिनलाई समयानुकुल बनाउँदै अन्य प्राविधिक विश्वविद्यालय स्थापनाको चरणमा रहेको बताउनुभयो ।

‘प्रदेश ५ मा नेपाल संस्कृत विश्वविद्यालय र लुम्विनी विश्वविद्यालय रहेका छन् । यी विश्वविद्यालयलाई समयानुकुल परिमार्जन गर्दै लैजाने आवश्यकता महसुस गरेका छौं’, मुख्यमन्त्री पोख्रेलले भन्नुभयो, ‘बढ्दो प्राविधिक शिक्षाको आवश्यकतालाई महसुस गरी प्राविधिक विश्वविद्यालय स्थापना गर्ने तयारीमा छौं ।’

हरेक स्थानीय तहमा प्राविधिक शिक्षा पुगिसकेको भन्दै मुख्यमन्त्री पोख्रेलले प्राविधिक शिक्षालाई व्यवस्थित बनाउने योजनामा रहेको बताउनुभयो । मुलुकको आर्थिक वृद्धिदर बढाउँदै लैजाने तयारीमा रहेको भन्दै मुख्यमन्त्री पोख्रेलले अबको तीन वर्षभित्र आर्थिक वृद्धिदर दोब्बरले बृद्धि गर्ने गरी मुलुकका तीनवटै सरकार अगाडि बढेको बताउनुभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *