राज्य निर्माणको शिक्षा जनता र कार्यकर्तालाई दिनु पर्दछः मुख्यमन्त्री

 

मुख्यमन्त्री शंकर पोखरेलले विकास र समृद्धिका बारे अहिलेसम्म राजनीतिक दलको मनोविज्ञान तयार भइनसकेको अवस्था रहेको बताउनुभएको छ । ‘आर्थिक समृद्धि र राजनीतिक दल’ विषयक आज काठमाण्डौंमा आयोजित कार्यक्रममा उहाँले जनता र राजनीतिक दलका कार्यकर्तालाई व्यवस्था परिवर्तनका लागि लामो समयसम्म राज्यविरुद्ध उतार्ने काम गरिएको हुँदा राज्य बनाउने मनोविज्ञानमा रूपान्तरण गर्न चुनौती भइरहेको धारणा व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री पोखरेलले भन्नुभयो, “हामीले राज्य निर्माणको शिक्षा पर्याप्त दिन सकेका छैनौँ । राज्यको शक्तिका रूपमा रहेका जनता र कार्यकर्तालाई विगतमा राज्यविरुद्ध परिचालन गरिएको हुँदा अहिले राज्यको आवश्यकता र जनताको मनोविज्ञानबीच तालमेल हुन सकेको छैन ।” पर्यटन र जलस्रोतका साथै कृषिका माध्यमबाट आयात प्रतिस्थापन गर्ने उद्योग स्थापनामा जोड दिँदै उहाँले प्रदेशको समृद्धिका लागि काठमाडौँकै जस्तो कम्तीमा पनि एक–एक वटा स्वास्थ्य र शिक्षाका गुणस्तरीय पूर्वाधार निर्माण आवश्यक रहेको बताउनुभयो ।

राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारी र राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुङगेलले मुलुकको आर्थिक, सामाजिक र राजनीतिक स्थायित्वका साथै प्राविधिकरूपमा छलाङ मार्ने अहिलेको अवसरलाई उपयोग गर्न युवाशक्तिको परिचालन नै महत्वपूर्ण आधार भएको बताउनुभयो । युवा स्वरोजगार कोषका उपाध्यक्ष डा प्रेम दङ्गालले बहुराष्ट्रिय कम्पनीले कृषि बीउबिजनमा आधिपत्य कायम गर्न खोजिरहेको प्रति सरकार सचेत हुन आवश्यक छ भन्नुभयो ।

समारोहमा डा अधिकारी, उपाध्यक्ष ढुङगेल र डा दङ्गालले क्रमशः ‘नेपालमा समृद्धि र राजनीतिक दलहरु’, ‘समृद्धिका लागि युवा र कृषिप्रणाली’ तथा ‘खाद्य सम्प्रभुता र समृद्धि’ विषयमा प्रस्तुत गर्नुभएको कार्यपत्रमाथि टिप्पणी गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *