नरैनापुर गाउँपालिकामा सरकारी स्तरमा पहिलो पटक अपांग दिवस मनाइयाे

बाँकेको नरैनापुर गाउँपालिकामा सरकारी स्तरमा पहिलो पटक अपांग दिवस मनाइएको छ । २८ औं अन्तर्राष्ट्रिय अपांग दिवसका अवसरमा आज (मंगलबार) गाउँपालिकाको महिला तथा बालबालिका शाखाद्वारा आयोजित कार्यक्रममा अपांगता भएका १० जना स्थानीयलाई सम्मान गरिएको शाखा प्रमुख कृष्णा कुमारी चन्दले बताउनुभयो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दल बहादुर बस्नेतको अध्यक्षता एवम् गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अपांगता भएका व्यक्तिहरुले सेतो र पहेंलो कार्ड भएकाहरुलाई पनि भत्ता दिन माग गरेका छन् । सरकारले रातो र निलो कार्ड भएका व्यक्तिहरुलाई मात्र भत्ता दिँदै आएको छ । कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष शाहले अपांगता भएका व्यक्तिहरुलाई निःशुल्क र सहज सेवा सुविधा उपलब्ध गराउन गाउँपालिका प्रतिबद्ध रहेको बताउँदै उनीहरुको समस्या समाधान र माग सम्बोधनका लागि पनि गाउँपालिका पर्यत्नशील रहने बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत बस्नेतले अपांगता भएका व्यक्तिहरुलाई आयआर्जनमा जोड्न सीपमूलक तालिम सञ्चालन गरिने बताउनुभयो । अपांगता भएकाहरुको व्यक्तित्व विकासका लागि गाउँपालिका संवेदनशील रहेको उहाँको भनाई छ । हरेक बर्ष डिसेम्बर ३ तारिखमा अन्तर्राष्ट्रिय अपांग दिवस मनाइन्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *