तरुण दल नगर सभापति शाहविरुद्ध पाँच वर्ष कैद सजाय माग गर्दै मुद्दा दर्ता


बाँके । जिल्ला सरकारी वकिल कार्यालय बाँकेले तरुण दल नेपालगन्ज उपमहानगरपालिका समितिका सभापति सन्दीपजंग शाहलाई हातहतियार तथा खरखजना मुद्दामा पाँच वर्ष सजाय माग गर्दै अदालतमा मुद्दा दर्ता गरेको छ।
गत कात्तिक १४ गते पक्राउ परेका शाहसहित चार जनालाई हातहतियार तथा खरखजना सम्बन्धी मुद्दामा सरकारी वकिल कार्यालय बाँकेले बिहीबार अदालतमा मुद्दा दायर गरेको हो।
मुलुकी अपराध संहिता २०७४ को हातहतियार तथा खरखजनासम्बन्धी उक्त कसूर स्थापित हुन आएमा हातहतियार जफत गरी पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ।
अभियोग पत्रमा शाहसहित पक्राउ परेका माधव नेपाली, प्रितम थापा र यमबहादुर बुढामगरलाई सो कसूर अनुसार अधिकतम सजाय माग गरिएको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ। मुद्दा दर्ता भए पनि बहस सुरू भने भइसकेको छैन।
इलाका प्रहरी कार्यालय कोहलपुरले चारै जनामाथि हातहतियार तथा खरखजना मुद्दामा अनुसन्धान गरेको थियो। अनुसन्धानको प्रस्तावित राय बुधबार जिल्ला सरकारी वकिल कार्यालयमा बुझाइएको थियो।
सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेपछि तरुण दल आन्दोलित छ । त्यसैको विरोधमा तरुण दलले शुक्रबार बाँके जिल्ला बन्द गराएको छ । शाहलाई प्रहरीले फसाउन खोजेको र त्यो हतियार प्रहरी आफैंले राखेको दाबी तरुण दलको छ । तर, प्रहरीले भने निष्पक्ष ढंगले अनुसन्धान गर्दा बरामद हतियार शाहकै भएको देखिएको बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *