प्रदेश ५ बौद्ध संस्कृतिका, प्राकृतिक र सांस्कृतिक सम्पदाकाे धनी छ: मुख्यमन्त्री पाेखरेल


चीनको सिचुवान प्रान्तले आयोजना गरेको बेल्ट एण्ड रोड इनिटसिएटिभ ¬(बिआरआइ) सिचुवान अन्तर्राष्ट्रिय मैत्री शहरहरूको सम्मेलनमा भाग लिई  मुख्यमन्त्री शंकर पोखरेल स्वदेश फर्कनु भएको छ । भ्रमण विकास, द्विपक्षीय सम्बन्ध र अनुभव आदान प्रदानका लागि फलदायी भएका उहाँले बताउनुभएको छ ।
विश्वका ३२ देशका ४३ वटा प्रान्त तथा शहरहरूको सहभागिता भएको उक्त कार्यक्रमको उद्घाटन सत्रमा  मुख्यमन्त्री ज्यूबाट नेपाल—चीन सम्बन्ध र सहकार्यका बारेमा महत्वपूर्ण मन्तव्य व्यक्त गर्नुभयो । मन्तव्यका क्रममा उहाँले चीनका महामहिम राष्ट्रपतिको नेपाल भ्रमण र त्यस अवसरमा भएका समझदारी तथा सम्झौताले नेपालमा उत्साह ल्याएको र नेपाल—चीन सम्बन्धलाई नयाँ उचाइमा पु¥याएको चर्चा गर्नुभयो । राष्ट्रपति सि चिनफिङले अघि सारेको बिआरआइ एक विश्वव्यापी अभियान भएको,यसमा आबद्ध सहभागी राष्ट्रहरूबीच सहकार्य गर्न र विकासका नयाँ संभावनाहरू खोज्न लाभदायक हुने विचार उहाँले व्यक्त गर्नुभयो । उद्घाटन सत्रपछि भएको गभर्नरहरूको सम्मेलनलाई विशेष सम्बोधन गर्दै  मुख्यमन्त्रीज्यूले नेपालले छिट्टै चेङ्दुमा महावाणिज्य दुतावास खोल्ने बताउनुभयो । सम्मेलन पश्चात भगिनी सम्बन्ध कायम भएका प्रान्त र शहरहरुबीच विकास निर्माणका लागि केही साझा अवधारणाहरू बनाएर अघि बढ्ने समझदारी भएको छ । सिचुवान प्रान्त र प्रदेश ५ बीच गएको असार १७ गते भगिनी सम्बन्ध कायम गर्ने समझदारी भएको थियो ।

त्यसैगरी सम्मेलनको संस्कृति तथा पर्यटन सत्रमा सम्बोधन गर्दै मुख्यमन्त्रीले प्रदेश नं ५ को पर्यटन प्रवद्र्धनका बारेमा मन्तव्य व्यक्त गर्नुभयो । बुद्ध जन्मस्थल लुम्बिनी लगायतका पर्यटकीय स्थलहरूको महत्वको चर्चा गर्दै सहभागीहरुलाई लुम्बिनी भ्रमणको लागि निमन्त्रणा गर्नुभयो । प्रदेश ५ बौद्ध संस्कृतिका साथै बर्दिया राष्ट्रिय निकुञ्ज लगायतका प्राकृतिक र सांस्कृतिक सम्पदाहरूले महत्वपूर्ण रहेको उहाँले जानकारी दिनुभयो । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानास्थलमा चेङ्दुबाट सिधा उडानका लागि सिचुवान प्रान्त सरकारलाई सहयोगका लागि अनुरोध गर्दै उहाँले सिधा उडानले बुद्ध जन्मस्थल लुम्बिनी आउन चाहने चिनियाँ, खासगरी सिचुवानका जनताका लागि फाइदा पुग्ने बताउनुभयो । साथै मुख्यमन्त्री ज्यूले लुम्बिनीलाई सिचुवान सरकारले रणनीतिक पर्यटकीय स्थलको रूपमा समेट्नु उपयुक्त हुने सुझाव दिनुभयो । भ्रमण टोलीका अन्य सदस्यहरूद्वारा कृषि, ऊर्जा र पूर्वाधार सत्रमा सहभागिता जनाउनुभयो । माननीय मुख्यमन्त्री ज्यूको भ्रमण दलमा प्रतिनिधि सभा सदस्य माननीय सुजिता शाक्य, प्रदेश नं ५ का प्रमुख सचिव तोयनारायण ज्ञवाली, प्रदेश योजना आयोगका सदस्य डा.विष्णुप्रसाद गौतम र मुख्यमन्त्रीका स्वकीय सचिव सरोजकुमार रेग्मी सहभागी हुनुहुन्थ्यो ।

त्यसैगरी सिचुवान प्रान्तस्तरीय कम्युनिष्ट पार्टी प्रमुखको नेतृत्वको पार्टी तथा प्रान्तीय सरकारको टोलीसित प्रदेश नं ५ को टोलीको औपचारिक भेटघाट तथा छलफल समेत भयो । भेटमा विशेष गरी बिआरआइ अन्तरगत पर्यटन, जडिबुटी, उद्योग, आइटि र छात्रवृति आदानप्रदान गर्ने विषयमा गहन छलफल भयो । चिनियाँ मोडेलको औद्योगिक ग्राम खोल्न सकिने, योजनाबद्ध जग्गा तथा शहरी विकासको दिशामा सिचुवानबाट प्रदेश नम्बर ५ ले सिक्न सक्ने संभावनाका विषयमा पनि छलफल भयो ।
त्यसैगरी,नेइजियाङ शहरमा आयोजित औद्योगिक प्रवद्र्धन सम्मेलनमा माननीय मुख्यमन्त्रीेले प्रमुख आतिथ्यता ग्रहण गर्दै सम्बोधन गर्नुभयो । सो अवसरमा उहाँले प्रदेश नं ५ मा औद्योगिक विकासको स्थिति र संभावना तथा नेइजियाङ शहरसित गर्न सकिने सहकार्यका संभावना विषयमा चर्चा गर्नुभयो ।
माननीय मुख्यमन्त्रीको प्रमुख आतिथ्यतामा आयोजित सहभागी ५ राष्ट्रका प्रतिनिधिहरू सहभागी रहेको कार्यक्रममा द्विपक्षीय सम्बन्ध, सहकार्य र हितका बारेमा छलफल सम्पन्न भयो । उहाँले विमानस्थल, सडक, रेल र इन्टरनेटले गर्दा दुरी निरन्तर छोटिदैं गएको सन्दर्भमा सिचुवान प्रान्त तथा यसका शहरहरूसित प्रदेश नम्बर ५ तथा यसका शहरहरूले सहकार्य गर्ने प्रशस्त संभावनाहरू उजागर भएको तथा निकट सम्बन्ध स्थापना गर्न धेरै सहयोग पुगेको विश्वास व्यक्त गर्नुभयो । पर्यटकीय पूर्वाधार,औद्योगिक ग्राम र प्रविधिको प्रयोग गरी गरिएको विकास प्रदेश नम्बर ५ को सन्दर्भमा पनि लाभदायक रहेको उहाँले बताउनुभयो ।
असोज २७ गते प्रस्थान गर्नु भएका मुख्यमन्त्री कार्तिक १ गते स्वदेश फर्कनुभएको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *