आज तीज पर्व, धुमधामका साथ मनाइदै

बाँके । आज हिन्दु महिलाले निकै उत्साहको साथ मनाउने पर्व तीज । भाद्र शुक्ल तृतीयाको दिन मनाइने यो वर्षमा विशेषगरी आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरिन्छ । यो पर्वलाई हरितालिकाको नामले समेत बुझिन्छ । पुराणहरूमा गरिएको व्याख्या अनुुुसार, पार्वतीका पिता हिमालय पर्वतले पार्वतीको विवाह भगवान् विष्णुसँग गर्न चाहेको तर स्वयम् पार्वती भने शिवलाई पतिका रूपमा चाहन्थिन् । उनको यो चाहना बुझेर सखीहरूले उनलाई दरबारबाट भगाएर लैजान्छन् । उनीहरू कसैले नदेख्ने स्थानमा गएर शिवको ध्यान तपस्या गरेर बस्छन् । पार्वतीको निरन्तरको एकचित्तको भक्तिबाट प्रभावित भएर स्वयम् शिव भगवान् प्रकट भएर इच्छित वर दिएको दिनको स्मरणमा नै तीज पर्व मनाइन्छ ।

पार्वतीले धेरै दिन अन्नपानी त्यागेर एकचित्त र भक्तिले शिवको आराधना गर्दा अघिल्लो रात दूध र केराको सेवन गरेको चर्चा पनि पुराणहरूमा गरेको पाइन्छ । यही प्रसङ्गले ‘दर खाने’ प्रचलन समाजमा चलेको हो भनिन्छ ।

अहिले पनि अविवाहितहरूले आफूले चाहेको वर प्राप्तिको उद्देश्य र विवाहितहरूले आफ्ना पतिको दीर्घायु र पारिवारिक सुख–शान्तिका लागि भाद्रशुक्ल तृतीयाको दिन सकेसम्म निर्जल र निराहार व्रत बस्ने परम्परा कायम छ । त्यस्तै व्रतको अघिल्लो दिन राति अबेरसम्म आफ्ना दिदीबहिनी र साथीसँगीसँग बसेर विभिन्न परिकार बनाएर दर खाने चलनले व्यापकता पाएको छ ।

त्यस्तै, व्रतको भोलिपल्ट गणेश चौथी मनाइने प्रचलन पनि हिन्दु समाजमा चलेको छ । त्यसको भोलिपल्ट भने पञ्चमीको ऋषिपञ्चमीको व्रत बस्ने परम्परा रहेको छ । यो दिन सबेरै नजिकैको पवित्र जलाशयमा गएर महिलाले आफ्ना सबै अङ्गप्रत्यङ्गको विशेष सरसफाइ गर्ने चलन रहेको छ । यो समयमा स्नान गर्दा गाईको गोबर, तुलसीको मठको माटो, हात्तीको पाइला परेको माटोको प्रयोग गर्ने चलन विगतमा रहेको थियो । स्नान गर्दा महिलाले आफ्ना हरेक अङ्गलाई ३६५ पटक धुनु वा पखाल्नुपर्छ भन्ने परम्परा थियो । स्थानको अन्तिममा ३६५ वटा दत्तिउनले दाँत माझ्ने र त्यसको पातलाई तामाको भाँडामा हालेर जलाधार बनाउने परम्परा पनि रहेको छ । माथि उल्लिखित सबै वस्तुमा आयुर्वेदिक औषधीय गुण हुने भएकाले सायद यस्तो परम्परा चलेको हुनुपर्छ । यद्यपि अहिले त्यस्तो परम्परा प्रायः लोप हुने अवस्थामा पुगिसकेको छ ।

विधिपूर्वक स्नान गरिसकेपछि यो दिन महिलाहरू समूहमा मिलेर अरुन्धतीसहित सप्तऋषिको पूजा–अर्चना गर्ने परम्परा छ । सप्तऋषिमा कश्यप, जमदग्नि, गौतम, वशिष्ठ, भारद्वाज, विश्वामित्र, अत्रि ऋषिको पूजा गरिन्छ । यी ऋषिहरूलाई सात लोकको प्रतीक पनि मान्ने गरिन्छ । हरेक मानवले जन्मसँगै देव ऋण, पितृ ऋण र ऋषि ऋण लिएर जन्मेको हुन्छ । मानव चोलामा रहँदा ती ऋणबाट मुक्त हुनुपर्छ भन्ने धार्मिक मान्यता पनि रहेको पाइन्छ । गृहस्थाश्रममा रहँदा विभिन्न धार्मिक कार्य र अनुष्ठान गरेर देव ऋण चुक्ता गर्न सकिन्छ भने श्राद्धलगायतको पितृकार्य गरेर पितृ ऋण चुक्ता गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *