क्याम्पस प्रमुखलाई प्रवेशमा रोक लगाउने


बाँके । नेपालगञ्जस्थित महेन्द्र बहुमुखी क्याम्पसमा क्रियाशील विद्यार्थी संगठनहरुले क्याम्पस प्रमुखलाई क्याम्पस प्रवेश गर्न नदिने बताएका छन् ।
क्याम्पस प्रशासन समक्ष विभिन्न मागहरु राख्दै ध्यानाकर्षण गराएपनि कुनै वास्ता नगरेको भन्दै चार विद्यार्थी संगठनहरुले मंगलबार देखि क्याम्पस प्रमुखलाई क्याम्पस प्रवेश गर्न नदिने बताएका हुन् । विज्ञप्तीमा अनेरास्ववियुका सचिव प्रकाश वि.क.,नेविसंघका अध्यक्ष चन्दप्रकाश देवकोटा, अखिल(क्रान्तिकारी)का अध्यक्ष धु्रव जोशी, समाजबादी विद्यार्थी युनियनका प्रतिनिधि संगम पोखरेलले संयुक्त हस्ताक्षर गर्नु भएको छ ।
संयुक्त प्रेस विज्ञप्ती जारी गरेर आफ्ना माग पूरा गर्न कुनै चासो नदेखाएकाले आन्दोलनमा उत्रन बाध्य भएको विद्यार्थी संगठनहरुले जनाएका छन् । भाद्र ५ गते संयुक्त विज्ञप्ति मार्फत् विद्यार्थी संगठनहरुले शैक्षिक क्यालेण्डर अनुसार नियमित पठनपाठनको व्यवस्था हुनुपर्ने, विभिन्न संकाय अन्तर्गत्का कार्यक्रमहरुमा मनोमानी ढंगले शुल्क बृद्धि भएकाले बैज्ञानिक शुल्क निर्धारण गर्नुपर्ने विज्ञप्तीमा उल्लेख गरेका थिए ।
त्यसैगरी सेमेष्टेर कार्यक्रमहरुमा अपारदर्शी ढंगले वितरण गरिएका छात्रबृत्तिलाई खारेज गरी त्रिभुवन विश्व विद्यालयको नियम अनुसार पारदर्शी ढंगले वितरण गर्नुपर्ने, स्वतन्त्र विद्यार्थी युनियनको कोषको वितरण सार्वजनिक गर्नुपर्ने, सेमेष्टर कार्यक्रमहरुको आय ब्यय सार्वजनिक गर्नुपर्ने र कर्मचारी अभावका कारण विद्यार्थीहरुका नियमित कार्यक्रमहरु प्रभावित हुँदै आएकाले आवश्यक कर्मचारीको व्यवस्था गर्न माग गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *