भोली नाग पन्चमी


बाँके । भोली श्रावण शुक्ल पन्चमी अर्थात नाग पन्चमी । हिन्दु धर्मावलम्वीले अस्टनागको पुजा गरी नाग पन्चमी मनाइदैछ । आजका दिन घरको मूलद्धारमा नागको तस्विरलाई घरका मूल ढोकाहरुमा नाग टाँस्ने गरिन्छ ।
जलाशय पँधेरा, धारा कुवा, इनार लगायत पानीको मुहान स्रोतमा नागको बासस्थान रहने विश्वास रहिआएकाले आजको दिन पानी पँधेरामा पनि कपासको नाग बनाई दूध चढाई पूजा गर्ने चलन पनि रहेको छ ।
नागको चित्रमा दुध, दही, अक्षता, फुल, दुबो राखी गाईको गोबरको सहायताले घरको ढोका माथि टाँस्ने गरिन्छ। आजको दिनदेखि वषर्याम समाप्त भई हिउँद सुरू भएको पनि मान्ने गरिन्छ। नागका अष्टकुल अर्थात अनन्त, बासुकी, पद्म, महापद्म , तक्षक, कुलीर, कर्कट र शङ्ख नागको चित्र टाँस्नाले त्यस्तो घरमा चट्याङ नपर्ने तथा आगो र सर्पको डरसमेत नहुने धार्मिक विश्वास रहेको छ।
। ज्योतिषशास्त्र(अनुसार पञ्चमी तिथिका स्वामी नाग देवता हुन। भूमिमा नाग देवताको बसोबास हुने र भूमि खन्दा नागलाई कष्ट हुने संभावना भएकाले नागपञ्चमीका दिन भूमिमा हलो जोत्नु वा जग राख्नु शुभ मानिदैंन।
वैदिक परम्परामा नागलाई शिव र विष्णुका साथै देवीका शक्तिका रुपमा मानिन्छ। पंचायन देवतामध्ये शिवको गलामा नाग विष्णुको शैयामा नाग गणेशका हातमा नाग रहेका छन् भने सूर्यको उपासनामा पनि नागको चर्चा आउँछ। त्रेतायुगीन रामका भाइ लक्ष्मणलाई शेषको अवतार मानिन्छ भने द्वापरयुगीन उनै कृष्णका दाजु बलराम शेषनागका प्रतीक नै हुन्।
नागको पूजा गर्दा चामलको पीठोको मूर्ति स्वरुप नागदम्पती बनाइ गाईको दूध कपासको प्यूरी तील लावा चढाई केराको पातमा राखेर नागको प्रार्थना गर्नाले नागहरु बढी खुसी हुन्छन् भन्ने प्रचलन छ । नागको पूजा गर्ने चलन वैदिककालदेखि नै शुरु भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *