लुम्बिनीको गुरुयोजना निर्माण गर्न प्रधानमन्त्रीको निर्देशन


बाँके । प्रधानमन्त्री ओलीले गौतमबुद्धको जन्मस्थल लुम्बिनी क्षेत्रको दीर्घकालीन विकासका लागि अढाइ वर्षमा गुरुयोजना निर्माण कार्य सम्पन्न गर्न लुम्बिनी विकास कोषका पदाधिकारीलाई निर्देशन दिनुभएको छ ।

कोषका संरक्षकसमेत रहनुभएका प्रधानमन्त्री ओलीले लुम्बिनी बुद्धको जन्मस्थल मात्र नभई बौद्ध दर्शनको उद्गमस्थल भएकाले लुम्बिनीलाई बौद्ध दर्शनको विशिष्ट अध्ययन केन्द्रका रूपमा विकास गर्नुपर्ने बताउनुभयो । उहाँले प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार सम्पन्न लुम्बिनी विकास कोषको बैठकमा रामग्राम, कपिलवस्तु आदि क्षेत्रको सर्वाङ्गीण विकास हुने गरी गुरुयोजना बनाउनसमेत निर्देशन दिनुभयो । बैठकमा कोषका अध्यक्षसमेत रहनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईको उपस्थिति रहेको थियो ।

कोषका उपाध्यक्ष अवधेश त्रिपाठीका अनुसार, रामग्रामको गुरुयोजनाको ‘ड्राफ्ट’ बनिसकेको छ । सो विषयमा पनि बैठकमा छलफल भएको थियो । कपिलवस्तु क्षेत्र वरपर बृहत्तर जग्गा अधिकरण गरेर त्यसको पनि गुरुयोजना बनाउन प्रधानमन्त्रीबाट निर्देशन प्राप्त भएको उपाध्यक्ष त्रिपाठीले जानकारी दिनुभयो ।
उहाँका अनुसार, कपिलवस्तुदेखि लुम्बिनी भएर अन्तर्रा्ष्ट्रिय विमानस्थल हुँदै रामग्राम जोडेर बौद्ध परिपथको परिकल्पनासहित इलेक्ट्रिक मेट्रो रेलमार्ग बनाउने विषयमा पनि बैठकमा छलफल भएको थियो । २०२० को भ्रमण वर्षलाई लक्षित गर्दै आगामी बुद्ध जयन्ती अन्तर्रा्ष्ट्रियस्तरमा प्रवद्र्धन हुनेगरी नेपालमा मनाउनेबारे आवश्यक तयारीका लागि निर्देशन प्राप्त भएको त्रिपाठीले जानकारी दिनुभयो । बैठकमा प्रधानमन्त्री ओलीलाई लुम्बिनी गुरुयोजनाको हालसम्म भएका कामको बारेमा कोषका पदाधिकारीले जानकारी गराउनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *