आज राति खण्डग्रास चन्द्रग्रहण लाग्दै


बाँके । आज आषाढ शुक्ल पूर्णिमाका दिन मङ्गलबार खण्डग्रास (आधा चन्द्रमा ढाक्ने) चन्द्रग्रहण लाग्दैछ । ग्रहणले राति १ बजेर ४६ मिनेटबजेदेखि आग्नेय कोण (पूर्व र दक्षिणको बीच) बाट स्पर्श गर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र पोखरेलले जानकारी दिनु भयो । बुधबार बिहान ३ बजेर १५ मिनेटमा ग्रहणको मध्यकाल हुनेछ । बुधबार बिहान ४ बजे ४५ मिनेटमा मोक्षकाल अर्थात् ग्रहण सकिने उनले बताउनु भयो ।
यो ग्रहण कुल २ घण्टा ५९ मिनेटको हुनेछ । खगोलविद् एवं वाल्मीकि विद्यापीठका सहप्राध्यापक जयन्त आचार्यका अनुसार नेपालबाट प्रष्ट देख्न सकिने यो ग्रहण नेपाललगायत भारत, चीन मंगोलिया, अफ्रिका, दक्षिण अमेरिका, जापान, यूरोप, रसिया, अष्ट्रेलिया आदि ठाउँबाट हेर्न सकिन्छ । क्यानडा तथा उत्तर अमेरिकामा बसोवास गर्नेहरूले यो ग्रहणको अनुभव लिन पाउने छैनन् ।
चन्द्रग्रहण सूयग्रहण जस्तो हानिकारक नहुने हुँदा नांगै आँखाले हेर्न सकिने खगोलशास्त्रीहरू बताउँछन्। ‘चन्द्रग्रहण टेलीस्कोप, वाइनाकुलर, क्यामरा वा अरु कुनै सामाग्रीले हेर्दा केही असर गर्दैन’, खगोलशास्त्री आचार्यले जानकारी दिनु भयो । चन्द्रग्रहणमा कुनै त्यस्ता आँखालाई हानि नोक्सानी पुर्याउने खालका किरण आएका हुँदैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *