विद्यार्थी भर्ना र टिकाउन झोला र कापी सहयोग

बाँके । मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम अन्तर्गत जानकी गाउँपालिकामा विद्यालय भर्ना र विद्यालयमा बालबालिका टिकाउन सहयोग पुग्ने अपेक्षाका साथ कक्षा १ मा नयाँ भर्ना भएका बालबालिकालाई झोला र कापी वितरण गरिएको गाउँपालिकाका अध्यक्ष रामनिवास यादवले बताउनुभयो । कक्षा १ मा भर्ना भएका बालबालिकालाई झोला वितरण गरिएपछि विद्यालय आउन–जान धेरै सजिलो भएको छ ।

‘सरकारी विद्यालयमा जसोतसो बालबालिका भर्ना गरेका हुन्छन्, बालबालिकालाई किताव कापी राख्ने झोला समेत अभिभावकले व्यवस्था गर्न सक्दैनन् ।’ गाउँपालिका अध्यक्ष यादवले भन्नुभयो,‘बालबालिकाको यस्तो अवस्था देखेर हामीले मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रममार्फत झोला वितरण गरेका छौं।’
उहाँका अनुसार, बालबालिकालाई विद्यालयमा अध्ययन गर्न आउन सजिलो बनाउनको लागि झोला वितरण गरिएको हो ।
यो कार्यक्रम अन्तर्गत जानकी गाउँपालिका भित्रका छ वटै वडामा कक्षा १ मा यो वर्ष नयाँ भर्ना भएका १ हजार ७ सय ३३ विद्यार्थीले झोला र कापी प्राप्त गरेका छन् । बालबालिकालाई झोला वितरण कार्यक्रम प्रभावकारी रहेको आधारभूत विद्यालय गुरुवागाउँकी शिक्षक सन्ध्या शर्मा बताउनुहुन्छ ।

‘कक्षा १ मा नयाँ भर्ना भएका कुनै पनि बालबालिकाको राम्रो झोला हुँदैन, धेरैले किताव हातमै छोपेर आउने जाने गर्दछन्।’, शिक्षक शर्माले भन्नुभयो,‘झोला र कापी पाउँदा बालबालिका धेरै खुशी भएका छन् ।’

बाँकेको जानकी गाउँपालिकाको वडा नं. ५ बेलहरीमा रहेका छ वटा विद्यालयमा कक्षा १ मा अध्ययनरत बालबालिकालाई आज मंगलवार झोला र कापी वितरण गरिएको छ ।
यसैगरी वडा नंं ६ गनापुरस्थित ७ वटा विद्यालयका ३३५ बालबालिकाको लागि झोला तथा कापी वितरणको लागि सम्बन्धित विद्यालयलाई हस्तान्तरण गरिएको जानकी गाउँ कार्यपालिका सदस्य राजकुमार धोवीले जानकारी दिनुभयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *