स्वास्थ्य चौकीको सामाजिक लेखा परीक्षण

बाँके । जानकी गाउँपालिका स्थित बेलभार र बेलहरी स्वास्थ्य चौकीको सामाजिक लेखा परीक्षण तथा सार्वजनिक सुनुवाई कार्यक्रम शुक्रवार सम्पन्न भएको छ ।

जानकी गाउँपालिका स्वास्थ्य शाखाको आयोजना तथा हातेमाले सञ्चार समूहको सहजिकरणमा वडा नं. २ मा रहेको बेलभार स्वास्थ्य चौकी र वडा नं. ५ मा रहेको बेलहरी स्वास्थ्य चौकीको शुक्रवार सार्वजनिक सुनुवाई गरिएको हो ।

बेलभार स्वास्थ्य चौकी प्रमुख गोविन्द गौतमले आर्थिक वर्ष ०७५÷०७६ को प्रगति विवरण सार्वजनिक गर्नुभएको थियो । सार्वजनिक सुनुवाईमा सर्वसाधारणले राखेको प्रश्नको जवाफ दिदै जानकी गाउँपालिका वडा नंं. २ का अध्यक्ष एवम् बेलभार स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष चन्द्रिकाप्रसाद गुप्ताले स्वास्थ्य चौकीमा देखिएका समस्या समाधान गर्न आफू प्रयत्नशिल रहने बताउनुभयो ।

उहाँले बेलभार स्वास्थ्य चौकीमा औषधि अभाव हुन नदिने, स्वास्थ्य चौकी परिसरमा तालिम हल निर्माण, प्रयोगशाला सञ्चालन, एम्वुलेन्सको व्यवस्था गरिने प्रतिवद्धता जनाउनुभयो ।

जानकी गाउँपालिका स्वास्थ्य शाखा संयोजक गिरबहादुर गुरुङले बेलभार स्वास्थ्य चौकीकोे सेवा प्रवाह राम्रो रहेको पाईएको बताउदै भौतिक संरचना निर्माणमा ध्यान दिनुपर्ने बताउनुभयो । यसैगरी बेलहरी स्वास्थ्य चौकीको सामाजिक लेखा परीक्षण तथा सार्वजनिक सुनुवाई कार्यक्रममा स्वास्थ्य चौकी भवन निर्माण गरिनु पर्ने, प्रसुति गृह मर्मत सम्भार गरेर सञ्चालन गरिनुपर्ने, स्वास्थ्य चौकीमा विश्रामस्थल निर्माण, खानेपानी, विद्युत र इन्टरनेटको व्यवस्था हुनुपर्ने लगायतका माग राखेका थिए ।

स्वास्थ्य चौकी प्रमख टामलाल बेल्वासे र स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष एवम् वडाध्यक्ष रमेशकुमार बर्माले सार्वजनिक सुनुवाईमा उठेका प्रश्नको जवाफ दिनुभएको थियो ।

बेलहरीका सामाजिक अगुवा होमराज कुर्मीले स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेर स्वास्थ्य क्षेत्रमा लगानी गर्न माग गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *