जिल्लाकै पहिलो साक्षर नगरपालिका कोहलपुर

बाँके । बाँकेको कोहलपुर नगरपालिकालाई बाँके जिल्लाकै पहिलो साक्षर नगरपालिका घोषणा गरिएको छ । आज कोहलपुरमा एक समारोहका बीच कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले नगरलाई साक्षर घोषणा गर्नुभएको हो ।

नेपाल सरकारले लिएको ‘साक्षर नेपाल’ को लक्ष्य अनुरुप कोहलपुरलाई साक्षर घोषणा गरिएको छ । शैक्षिक विकासमा कोहलपुर नगरपालिका जिल्लाकै प्रथम हुन सफल भएको भन्दै संघिय साँसद महेश्वर गतराज ‘अथक’ ले आफनो सम्बोधनका क्रममा खुसी ब्यक्त गर्नुभयो ।

कोहलपुरलाई साक्षर नगरपालिका घोषणा गर्नका लागि आवश्यक सबै प्रक्रियाहरु पुरा गरिएको कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले बताउनुभयो ।

नगरपालिकाभित्र हालको अवस्थामा ९६ दशमलव ८५ प्रतिशत साक्षरताको संख्या रहेको जानकारी दिदैं रावतले आगामी आर्थिक वर्षभित्रै सबै नगरवासीलाई साक्षर बनाउने गरी अभियान संचालन गरिने प्रतिवद्धता समेत जनाउनुभयो ।

कोहलपुर नगरपालिकाका नगर शिक्षा शाखा प्रमुख अनन्त कुमार पौड्यालले साक्षर घोषणका १२ वटा मापदण्ड पुरा गरेर कोहलपुरलाई साक्षर नगरपालिकाका घोषणा गरिएको बताउनुभयो ।

१५ वर्षदेखि ६० वर्ष सम्मका उमेरसमूहलाई कायम गरिएको सर्वेक्षणमा नगरभित्रका ३ वटा वडाले साक्षरताको अंक प्राप्त नगरेकाले कोहलपुरलाई पूर्ण साक्षर घोषणा गर्न नसकीएको पौडेलले बताउनुभयो ।

नगरपालिकाको कुल ९० हजार ९ सय ५६ जनसँख्यामा ३ दशमलव १५ प्रतिशत अर्थात २ हजार ८ सय ६९ नागरिक मात्र साक्षरताको समुहभन्दा बाहिर रहेको पौडेलले जानकारी दिनुभयो ।

नगर शिक्षा शाखा प्रमुख पौडेलले नगरभित्रका वडा ४, ८ र १४ लाई साक्षरताको दायराभित्र ल्याएर केही समयभित्रै कोहलपुरलाई पूर्ण साक्षर नगरपालिकाका रुपमा घोषणा गर्ने प्रतिवद्धता समेत जनाउनुभएको छ ।

साक्षर घोषणा कार्यक्रममा कोहलपुर नगरपालिका अन्तर्गत १५ वटै वडाका वडाध्यक्षहरुले सामुहिक रुपमा आफ्नो वडालाई पूर्ण साक्षर बनाउने प्रतिवद्धता समेत जनाएका छन ।

यसैबिच बाँकेकै पहिलो साक्षर नगरपालिका भएको भन्दै कोहलपुर नगरपालिका पुरस्कृत हुने भएको छ । जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय श्रीवास्तवले जिल्ला प्रथम हुन सफल कोहलपुर नगरपालिकालाई ५० लाख रुपैयाँ नगदले सम्मान गर्ने घोषणा गर्नुभएको हो ।

जिल्ला समन्वय समितिले केही समय पहिले जिल्लामा सबैभन्दा छिटो साक्षर घोषणा हुने स्थानिय तहलाई नगद राशी सहित पुरस्कृत गर्ने निर्णय गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *