बाँके । बाँकेको कोहलपुर नगरपालिकाले ५८ जना युवालाई रोजगार दिएको छ। पहिलो चरणमा पाँच वटा वडाका बेरोजगार युवालाई रोजगार दिएको नगरपालिकाका रोजगार अधिकृत भद्र थापाले जानकारी दिए। उनले भने, ‘पहिलो चरणमा वडा नम्बर ३, ८, ११, १२ र १३ का युवालाई एक महिनाका लागि रोजगार प्रदान गरिएको छ।’ कार्यक्रमअन्तर्गत एउटा वडाबाट १५ जनाका दरले ३०० युवालाई यसै आर्थिक वर्षमा रोजगार दिने योजना रहेको नगरपालिकाले बताएको छ।
रोजगारीका लागि छनौट गरिएका युवालाई सुरुवाती चरणमा सरसफाइ कार्यमा खटाएको छ। यसपछि वडा कार्यालयबाट आएका योजनाको आधारमा काममा खटाइने रोजगार अधिकृत थापाले बताए। युवाको योग्यता, क्षमता, दक्षता र सीपअनुसार काम दिइने बताइएको छ। उनले धेरैजसो युवालाई विकास निर्माणमा खटाइने छ। थापाले भने, ‘पढेलेखेका युवालाई कार्यालयको काममा खटाइने छ।’ नगरपालिकामा पाँच हजार २५ जनाले बेराजगार रहेको फाराम भरेका छन्। तीमध्ये विपन्न, अल्पसंख्यक, सीमान्तकृत र पिछाडिएका समुदायको युवालाई छनोट गरी रोजगार दिइएको नगरपालिकाले जनाएको छ।