ज्ञानोदयमा शैक्षिक महोत्सवमा


बाँके । बाँकेको खजुरा स्थित ज्ञानोदय नमूना माविमा आज विहीबारदेखि शुरु भएको शैक्षिक महोत्सवमा विद्यार्थी उत्साहित बनेका छन् । आफ्नो प्रतिभा प्रष्फुटन गर्न पाउँदा खजुरा क्षेत्रका विभिन्न विद्यालयबाट सहभागी विद्यार्थी महोत्सवमा उत्साहित बनेका हुन् ।
शैक्षिक महोत्सवमा चित्रकला, अनुलेखन, पठनबोध, हाजिरीजवाफ, गायन, एकल नृत्य सामूहिक नृत्य, कविता वाचन, शैक्षिक सामाग्री मूल्यांकन, वक्तृत्वकला विद्यार्थीवीच प्रतिस्पर्धा गराइएको छ भने पुरुष शिक्षकका लागि घैटोफोड र महिला शिक्षकका लागि कुर्ची दौड राखिएको छ ।
खजुरा गाउँपालिका शिक्षा समितिको आयोजनामा भएको शैक्षिक महोत्सव तथा अतिक्ति क्रियाकलाप २०७६ को खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले उद्घाटन गर्दै खजुरालाई शैक्षिक हब बनाइने बताए । उनले खजुरा शिक्षामा अगाडि बढिसकेको बताउँदै शैक्षिक सुधारका लागि महोत्सव कोशेढुंगा सावित हुने उल्लेख गरे ।
शैक्षिक महोत्सवमा खजुरा क्षेत्रका ३९ विद्यालय सहभागी छन् । भोली शुक्रवारसम्म संचालन हुने महोत्सवमा संचालन तथा व्यवस्थापन जिम्मा पाएको ज्ञानोदय नमूना माविका प्रधानाध्यापक तथा खजुरा गाउँपालिका शिक्षा समिति सदस्य ऋषिराम सापकोटाले सहभागीलाई स्वागत गर्दा शिक्षा समिति सदस्य तथा ज्ञानोदय नमूना मावि व्यवस्थापन समिति अध्यक्ष भक्तबहादुर केसीले कार्यक्रमको अध्यक्षता गरेका थिए । कार्यक्रममा नेकपा प्रदेश नं. ५ का सदस्य डम्बर विक तुफान, रेडक्रस खजुराका अध्यक्ष जीवनाथ सापकोटालगायतले शैक्षिक क्षेत्रमा राम्रो शुरुवात भएको बताउनु भयो ।
शैक्षिक सामाग्री प्रदर्शनी तथा अतिरिक्त क्रियाकलाप प्रतियोगिताको प्रत्येक विद्यामा आकर्षक पुरस्कार तथा ट्रफीको समेत व्यवस्था गरिएको छ । सहभागी विद्यालयले महोत्सव स्टलमा शैक्षिक समाग्री पर्दशनीमा राखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *