हुम्लामा रुघाखोकीका कारण ज्यान गुमाउनेको संख्या २ सय जना बिरामी

बाँके । हुम्लाको ताँजाकोट गाउँपालिकामा रुघाखोकीका कारण ज्यान गुमाउनेको संख्या नौ पुगेको छ । गत चैत २६ गतेबाट फैलिएको महामारीले दुई सय जना बिरामी परेका छन् । तर, १९ दिनसम्म पनि बिरामीले औषधि पाएका छैनन् ।

रुघाखोकीबाट ताँजाकोट गाउँपालिकाकी ७५ वर्षीया कुसुकली रिठालको चैत २६ चैतमा मृत्यु भएको थियो । ६० वर्षीय सुरजित खड्काको १ वैशाख, ५५ वर्षीय वीरबल रिठालको १४ वैशाख, ५५ वर्षीय रङ्गे कालीको ६ वैशाखमा, पाँच वर्षीया सुनकेस्रा सुनारको १० वैशाखमा र ७० वर्षीया अम्मकली मल्लको ३ वैशाखमा मृत्यु भएको थियो । त्यस्तै, ५५ वर्षीय लक्ष्य सुनारको १ वैशाख, ७६ वर्षीय बज्जिरे सुनारको ७ वैशाख र दशमहिने बालक सञ्जीव थापाको १२ वैशाखमा मृत्यु भएको हो । बिरामीमा टाउको दुख्ने, वाकवाकी लाग्ने, छाती दुख्ने, ज्वरो आउने लक्षण देखिएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले ताँजाकोटमा मृत्यु हुनेको संख्या अपडेट गराएको छ । तर, केन्द्र अथवा प्रदेश सरकारको कुनै पनि टोली अहिलेसम्म प्रभावित गाउँमा पुगेको छैन । परीक्षण नभएकाले रोग के हो भन्नेसमेत पहिचान हुन सकेको छैन । फोनबाट लिएको जानकारीका आधारमा महाशाखाले सो गाउँमा स्वाइन फ्लु फैलिएको अनुमान गरेको छ ।

सदरमुकाम सिमकोटबाट ४५ कोस टाढा ताँजाकोट गाउँ पुग्न सडक छैन, पैदल जान तीन दिन लाग्छ, त्यसैले सरकारले डाक्टर र औषधि पठाएको छैन । जनताका लागि औषधि र स्वास्थ्यकर्मी पुर्‍याउन सरकारले हेलिकोप्टरसमेत व्यवस्था गर्न सकेको छैन ।

महामारीबाट मृत्यु हुनेमा अधिकांश वृद्धवृद्धा र बालबालिका छन् । ताँजाकोट गाउँपालिका वडा नम्बर १, २ र ३ मा दुई सय ५० भन्दा बढीमा रुघाखोकी र ज्वरो देखिएको स्थानीय जगत शाहीले बताउनु भयो । गाउँपालिका प्रमुख बागदल मल्लले एक दर्जन बस्तीमा रोग फैलिएको जानकारी दिनुभयो । उहाँले संक्रमण देखिएको दुईदेखि चार दिनभित्रै बिरामीको मृत्यु हुने गरेको जानकारी दिनुभयो । मैला स्वास्थ्य चौकीका अहेव मोतीलाल जैसीका अनुसार दुई दिनअघि १० महिने बालकको समेत मृत्यु भएको छ । पूरै गाउँ इन्फ्लुएन्जाबाट प्रभावित भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *