‘हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय पुर्याऔं’ नरैनापुरमा विद्यार्थी भर्ना अभियान

बाँके । विद्यालय उमेरका बालबालिका धेरै विद्यार्थी विद्यालय बाहिर रहेको बाँकेको नरैनापुर गाउँपालिकामा विद्यार्थी भर्ना अभियानलाई तिब्रता दिइएको छ । बैशाख २ गतेदेखि चलेको भर्ना अभियानका क्रममा घरघर र टोलटोलमा पुगेर भर्ना अभियानलाई तिब्रता दिइएको
हो ।

शिक्षकहरुले घरदैलो कार्यक्रम गरिरहेको र गाउँपालिकाले टोलटोलमा पुगेर अभिभावकहरुलाई सचेत बनाउने काम गरिरहेको प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले बताउनुभयो । वडा नम्बर १ कट्कुइँयादेखि शुरु भएको अभियान वडा नम्बर ६ गंगापुरसम्म पुग्नेछ । गाउँपालिकाका अध्यक्ष इस्यिताक अहमद शाहको नेतृत्वमा टोलटोलमा पुगेर अभिभावकहरुलाई सचेत बनाउनेदेखि लिएर गाउँपालिकाले प्रदान गर्ने शिक्षा तथा सरसफाई कार्डका बारेमा पनि जानकारी गराइरहेको बस्नेतले बताउनुभयो । उहाँले बैशाख महिनासम्म शिक्षा तथा सरसफाई कार्डमा उल्लेख गरिएका ६ वटा प्रतिबद्धता पूरा नगरे गाउँपालिकाले दिने सेवा सुविधा रोक्ने बताउनुभयो ।

शौचालय नबनाउने र छोराछोरीलाई विद्यालय नपठाउने अभिभावहरुलाई यसबारे पनि सचेत गराइएको उहाँले जानकारी दिनु
भयो । ‘हर घरमा शौचालय, छोराछोरी विद्यालय’ भन्ने नारा तय गरेर अभियान चलाइरहेको गाउँपालिकाले यो बर्ष भर्ना दर सत् प्रतिशत पुर्याउने लक्ष्य लिएको छ । टोलटोलमा पुगेका गाउँपालिका अध्यक्ष शाहले आफ्ना बालबच्चालाई विद्यालय पठाउन अभिभावकहरुलाई आग्रह गर्नुभएको छ । ‘तपाईंहरु आ–आफ्ना बालबच्चालाई आजैदेखि विद्यालय पठाउने बाचा गर्नुहोस शिक्षामा पछाडि परेको हाम्रो नरैनापुरलाई अगाडि बढाउन सहयोग गर्नुहोस,’ उहाँले भन्नुभयो,‘शिक्षा भएन भने मैले सुनको घरै बनाइदिए पनि केही अर्थ छैन ।’ गरिबी र विपन्नताका कारण विद्यालय जान नसकेका बालबालिकाका लागि विद्यालय पोशाक र स्टेशनरी सामग्री उपलब्ध गराउने अध्यक्ष शाहले बताउनुभयो ।

अभियानमा जनप्रतिनिधि, कर्मचारी सबै खटिएका छन् । नरैनापुर गाउँपालिकाले १५ बर्षदेखि ६० बर्ष उमेरका स्थानीयलाई साक्षर बनाउन यसै बर्षदेखि साक्षरता अभियान पनि चलाइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *