पहिलो राष्ट्रव्यापी राजनीतिक संगठनको गठनमाः कम्युनिष्टको भूमिका

द्धितीय विश्वयुद्धको दौरानमा एशिया, अफ्रिका तथा ल्याटिन अमेरिकाका, औपनिवेशिक राष्ट्रयहरुले आ–आफ्नो मुक्तिका निम्ति सशस्त्र संघर्ष चलाए । फलतः स्थानीय शासकबर्ग तथा साम्राज्यवादीहरुले यस्ता आन्दोलनहरुलाई निर्ममतापूर्वक दवाइरहेका थिए । त्यसैताक चीन, भारत र नेपालमा पनि राजनीतिक गतिविधि तेज भैरहेको थियो । शुक्रराज, धर्मभक्त,दशरथचन्द तथा गंगालाल चारजनालाई प्राणदण्ड र छत्तीसजनालाई कारावास र अरुलाई चेतावनी दिई राणाशाहीले आफ्नो वाटोको काँढा सफा गरेको सम्झेको थियो तर घटनाक्रमको अभिबृद्धि यसको विल्कुल उल्टा भयो । १९९७ सालमा यो पर्व भएको हुँदा यसलाई ०९७ सालको पर्व भन्ने चलन भएर आएको हो ।

यो ०९७ सालको पर्वको समाचार त्यसमा पनि शहिदहरुको अदम्य उत्साहको खवर देशका कुनाकाप्चामा पुग्न गयो । फलतः देशमा राजनितिक गतिविधिको केन्द्र काठमाडौं राजधनी मात्र नभई सम्पूर्ण देशमा राणाशाहीविरोधी हुन थाल्यो । त्यसले गर्दा नेपाल र प्रवासमा बसी सामाजिक, धार्मिक तथा सांस्कृतिक क्षेत्रमा उत्रिन उत्साहित ग¥यो । देश र प्रवासका सम्पूर्ण देशभक्तहरुले “हाम्रा शहीदहरु अमर रहून्”“ शहीदको सपना पूरा गर्ने छौ र राणाशाही मूर्दावाद” आदि नारा दिँदै राणाशाहीविरोधी आन्दोलन तेजगर्दै अगाडि बढ्न थाले । अतः ०९७ सालको पर्वले चार भञ्ज्याङ्गभित्र मात्र सिमित भैरहेको जनआन्दोलनको परम्परालाई तोडी त्यसलाई राष्ट्रव्यापीरुप दिने आधार तयार गरियो ।

नेपालीहरुले यसरी देशभित्र र बाहिर प्रवासमा बसी विभिन्न रुपले ठाँउठाउँमा राणाशाही र अंग्रेजी साम्राज्यवादका विरुद्ध संघर्षगर्ने दौरानमा एक राष्ट्रव्यापी राजनीतिक संगठनको आवश्यकताको अनुभव हुन थाल्यो । त्यसताक द्धितीय विश्वयुद्ध समाप्त भई अंग्रेजी साम्राज्यवाद ज्यादै नै कमजोर भैसकेको हुनाले नेपालमा राणाशाही पनि कमजोर अवस्थामा पुग्न गएको थियो । यसले गर्दा नेपाली क्रान्तिकारीहरुलाई आपसमा सम्पर्क गर्न सजिलो भएको थियो । फलतःनेपाल र भारतमा बसी काम गर्ने नेपाली क्रान्तिकारीहरुको सम्मेलन २५ जनवरी १९४७ का दिन कलकत्तामा भयो । यस सम्मेलनमा काठमाडौं उपत्यकाको प्रतिनिधित्व गरी हाम्रा एक साथी सूर्यबहादुर भारद्धाज गएका थिए । यस सम्मेलनले नेपाली राष्ट्रिय कांग्रेसलाई जन्म दियो ।

नेपाली राष्ट्रिय कांग्रेसको स्थापनाले देशका विभिन्न स्थान र प्रवासमा बसी राणाशाही तथा अंग्रेजी साम्राज्यवादको विरुद्ध अलग–अलग रुपमा विभिन्न स्वार्थ, सिद्धान्त र समझदारी भएका क्रान्तिकारी शक्तिहरुलाई एक सुत्रमा बांधी तत्कालीन राष्ट्रको साझा दुश्मन राणाशाहीलाई ठुलो हाँक दियो । नेपालको राजनीतिक इतिहासमा यो पहिलो राष्ट्रव्यापी राजनैतिक संगठन थियो । तमाम क्रान्तिकारीहरु यसमा सम्मिलित भए तापनि सबैको उद्देश्य समान थिएन । पछि यस संगठनभित्र राजनैतिक शक्तिहरुको ध्रुबीकरण हुन थाल्यो । यसको चर्चा पछि यथास्थानमा गरिने छ तर त्यसबखत नेपाली राष्ट्रिय कांग्रेसको स्थापनाले नेपाली जनतालाई राणाशाहीका विरुद्ध संघर्षमा उतार्न ठुलो उत्साहित ग¥यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *