ज्येष्ठ नागरिक स्वास्थ्य बीमा शुभारम्भ, वृद्धभत्ता बढ्छः प्रधानमन्त्री

बाँके । प्रधानमन्त्री केपी शर्मा ओलीले आउदो बजेटबाट वृद्धभत्ता बढ्ने घोषणा गर्नुभएको छ । नयाँ वर्षको पहिलो दिनबाट शुरु गरिएको ‘ज्येष्ठ नागरिक स्वास्थ्य बीमा तथा खोलौं बैंक खाता’ अभियानको शुभारम्भ गर्दै उहाले आगामी आर्थिक वर्षको बजेटमा वृद्धभत्ता बढाउने घोषणा गर्नुभएको हो ।

‘अर्थमन्त्री यहीँ हुनुहुन्छ, बजेट नआई भन्न त नमिल्ने हो, तर लुकाएर लुक्ने कुरा छैन, वृद्धभत्ता बढ्छ’ उहाले अगाडी भन्नुभयो,‘वृद्धवृद्धालाई भत्ताले बाच्ने प्रोत्साहन मिलेको छ, अब मर्ने सोच त्याग्नुहोस्, वृद्धभत्ता अवश्य बढ्छ ।’

वृद्धभत्ता दिएकोमा आफू आलोचित भएको भन्दै उहाले वृद्ध भत्ता बढाएरै देखाउने स्पष्ट पार्नुभयो । ‘कसैलाई वृद्ध भत्ता बढाएकोमा नमज्जा लागेछ। वृद्धभत्ता बढाएर के फाइदा ? भन्ने पनि सुनियो। बाआमालाई खुवाउदा पनि फाइदा खोज्ने भेटियो’, प्रधानमन्त्री ओलीको भनाई थियो । सामाजिक सुरक्षा सम्बन्धि पैसा खातामै राख्दिने सुविधा ल्याएको उहाले जानकारी दिनुभयो ।

‘थैलीका दिन गए, चेकका दिन आए। राख्नै परे थैलीमा कार्डमा राखिन्छ’, उहाले अगाडी भन्नुभयो,‘‘बिरामी अपवादमा मात्र हुन सक्छन्, कुपोषणका कारण विरामी, अभावका कारणले विरामी, जानकारीका अभावका कारणले विरामी, रोगलाग्ने वातावरणको सुरक्षाको अभावले विरामी, यस्ता अनेक कारणले हुने विरामी, शुद्ध र स्वस्थ खानेकुरा प्राप्त नगरेर विरामी अब हुँदैनन् ।’

काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले १०० वर्षीया जमुना गुरुङ लगायत ५५ जना ज्येष्ठ नागरिकलाई स्वास्थ्य बीमाको प्रमाणपत्र हस्तान्तरण गरेर उक्त कार्यक्रमको सुरुवात गरेका थिए। अर्को राष्ट्रिय अभियान ‘सबै नागरिकलाई बैंक खाता कार्यक्रमको सुरुवात भने प्रधानमन्त्री ओलीका बुबा र प्रधानमन्त्रीकी श्रीमती राधिका शाक्यकी आमाको नाममा खाता खोलेर गरिएको छ।

‘सबै नागरिकलाई बैंक खाता’ अभियानको राष्ट्रिय वाणिज्य बैंकमा प्रधानमन्त्री ओलीका बुबा मोहन ओली र प्रधानमन्त्रीकी श्रीमती शाक्यकी आमा धनमाया शाक्यको नाममा जनही १०० रुपैयाँको निशुल्क खाता खोलेर सुरुवात गरिएको हो । यो अभियानको नारा भने , ‘समृद्धिसँग जोडौँ नाता, सबै नेपालीको बैंक खाता’ रहेको छ। यो खबर जनता टाइममा प्रकाशित भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *