वैशाख ९ अगावै एकता टुंग्याउने सहमति

बाँके । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचले वैशाख ९ अगावै एकता टुंग्याउने सहमति भएको छ ।

चन्द्रागिरीमा भएको बैठकमा अध्यक्षद्वयबीच सो सहमति भएको हो । एकता टुंगोलगाउनका लागि केही दिनभित्रै सचिवालय बैठक बोलाएर एकताको प्रस्ताव पेस गर्ने निर्णयसमेत भएको छ । जिल्ला र जनवर्गीय संगठनको एकता प्रक्रियामा विवाद मिल्न नसकेपछि सकसमा परेका अध्यक्षद्वयले चन्द्रागिरिमा एकान्त छलफल गरी नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको दिन (वैशाख ९ गते) एकताको सन्देश दिने गरी काम सक्ने निश्कर्ष निकाल्नुभएको हो ।

एकताको बिषय टुंगोलगाउन एकान्त छलफलका लागि गत बिहीबार चन्द्रागिरि पुग्नुभएका ओली–दाहाल शुक्रबार दिउँसो काठमाडौं फर्कनुभएको छ । उहाँहरुसँगै छलफलमा सचिवालय सदस्य रामहादुर थापा रमहासचिव बिष्णु पौडेल सहभागी हुनुहुन्थ्यो ।

‘एकताको बाँकी प्रस्ताव तयार गर्न अध्यक्षद्वयलाई जिम्मा दिइएको थियो, त्यसैका लागि उहाँहरूले गृहकार्य गर्नुभएको हो, अब केही दिनमै सचिवालय बैठक बस्छ र चाँडै एकताको काम पूरा हुन्छ,’ अध्यक्षद्वयको बैठकपछि महासचिव विष्णु पौडेलले भन्नुभयो ।

एकतामा सैद्धान्तिक र विषयगतभन्दा बढी व्यक्तिकेन्द्रित विवादले समस्या थियो । त्यसैले कुन जिल्ला र कुन भ्रातृ संगठनको नेतृत्व कसलाई कसरी दिने भन्नेमा अध्यक्षद्वयले नाममाथि केन्द्रित भएर सूची बनाएको स्रोतले बताएको छ । जिल्लाका अध्यक्ष, सचिवलगायतको जिम्मेवारी कसलाई दिने भन्नेमा नेकपाभित्र विवाद छ ।

गत जेठ ३ मा केन्द्रमा एकता भएको नेकपाको जिल्ला नेतृत्व तथा जनवर्गीय संगठनको एकता र नेतृत्व टुंग्याउने मूल काम बाँकी छ । त्यस्तै पोलिटब्युरो गठन र केन्द्रीय समितिका सदस्यको कार्यविभाजन हुन सकेको छैन । यो काम सकेपछि पार्टी एकताको सन्देश लिएर जिल्ला तहमा जाने नेकपाको योजना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *