चैत्र नवरात्र शुरु

बाँके । चैत २३ गते आजदेखि चैत्र नवरात्र शुरु भएको छ ।चैत्र शुक्ल प्रतिपदा अर्थात् चैत्रनवरात्र सुरु भएसँगै आजबाट देशभरका शक्तिपीठमा भक्तजनको भीड लाग्न थालेको छ । चैतेदशैँसमेत भनिने यस पर्वमा दुर्गा भवानीको विशेष उपासना गरिन्छ ।

आश्विन शुक्ल पक्षमा पर्ने दशैँ अर्थात् बडादशैँ जति भव्यरुपमा नमनाइए पनि चैतेदशैँमा देशभरका शक्तिपीठमा भक्तजनको भीड लाग्ने गर्छ । वैदिक सनातन धर्मावलम्बीले घरघरमा शक्तिको उपासना स्वरुप देवीको पूजाआजा गर्नुका साथै देवीभागवत, दुर्गा सप्तशती चण्डी, देवी स्तोत्रलगायत देवीको महिमा गाइएको ग्रन्थ पाठ गरिन्छ ।

चैत्र शुक्ल अष्टमी र नवमीलाई भने देशभर विशेष रुपमा मनाउने गरिन्छ । अष्टमीलाई चैतेदशैँ र नवमीलाई रामनवमी पर्वका रुपमा मनाउने गरिएको हो । यस वर्ष चैत ३० गते अष्टमी र वैशाख १ गते नव वर्षका दिन रामनवमी पर्व परेको छ । वर्षमा चार नवरात्र पर्छन् । चैत, असार, आश्विन र पुस महीनाको शुक्ल पक्षमा नवरात्र पर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमले बताए । चार नवरात्रमध्ये चैत्र र आश्विनका नवरात्रलाई विशेष रुपमा मनाउने गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *