नरैनापुरको विकासका लागि काठमाण्डौंका मन्त्रीलाई अनुरोध

 

बाँके । बाँकेको नरैनापुर गाउँपालिका विकासका लागि प्रदेश ५ का मन्त्रीहरुलाई बुटवलमा भेटेर गाउँपालिकाको विकासका लागि आवश्यक बजेट उपलब्ध गराउन माग गरेको गाउँपालिकाको डेलिगेशन टोलीले विहीबार संघीय संसद्का सभामुख र मन्त्रीहरुलाई भेटेर गाउँपालिकाको विकासका लागि ध्यानाकर्षण गराएको हो ।

अध्यक्ष इस्तियाक अहमद शाह नेतृत्वको टोलीले सभामुख कृष्ण बहादुर महरालाई भेटेर गाउँपालिकाको विकासका लागि पहल गरिदिन ध्यानाकर्षण गराएको हो । प्रदेश सभा सदस्य कृष्णा केसी नमुना समेत सम्मिलित टोलीले सभामुख महरालाई गाउँपालिकाको समग्र विकासका लागि पहल गरिदिन आग्रह गरेको प्रमुख प्रशासकीय अधिकृत दल बहादुर बस्नेतले जानकारी दिनुभयो ।

टोलीले विहीबार नै उपप्रधान, स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवलाई भेटेर प्राथमिक स्वास्थ्य केन्द्र लक्ष्मणपुरमा तत्काल दरबन्दी अनुसारको चिकित्सक पठाउन माग गर्दै गर्मी शुरु भएसंगै लामखुट्टेको बिगबिगी बढिरहेकाले ६ वटै वडाका लागि १२ हजार सुपानेट झुलको व्यवस्था गरिदिन आग्रह गरेको प्रमुख प्रशासकीय अधिकृत बस्नेतले बताउनुभयो ।

पुर्व उपसभामुख एवम् सांसद् पुर्णा कुमारी सुवेदी, बाँके क्षेत्र नम्बर १ का सांसद् महेश्वरजंग गहतराज अथक र प्रदेश सभा सदस्य नमुना सहित विभिन्न मन्त्रालय पुगेको डेलिगेशन टोलीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलाई भेटेर गाउँपालिकको भवन र अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माणका लागि सहयोग गरिदिन आग्रह गरेको छ ।

त्यस्तै समायोजनपछि कर्मचारी अभावले काम गर्न समस्या भइरहेको अवगत गराउँदै यथाशिघ्र कर्मचारी पठाइदिन माग गरेको बस्नेतले जानकारी दिनुभयो । टोलीले विहीबार नै वन तथा वातावरण मन्त्री शक्ति बस्नेतलाई पनि भेटेर प्रस्तावित क्रिकेट रंगशाला निर्माणका लागि सामुदायिक वनको नाममा रहेको १५ विगाहा जग्गा प्रयोग गर्न अनुमति मागेको छ । त्यस्तै अनुमति लिएर जनावरको शिकार गर्न पाउने गरी नरैनापुर गाउँपालिकालाई ‘हन्टिङ भिलेज’को रुपमा स्थापित गर्न आग्रह गरिएको छ । कृषि, भुमी व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनाललाई डेलिगेशन टोलीले वडा नम्बर ४ को खोदामा गाउँमा ५० विगाहा ऐलानी जग्गामा माछापोखरी, कृषि हाट बजार निर्माण, दुग्ध संकलन केन्द्र र नमुना पशु फर्मसहित रहेको कृषि हब निर्माणका लागि सहयोग गरिदिन माग गरेको छ । सभामुख र मन्त्रीहरुसंगको भेटका क्रममा गाउँपालिका अध्यक्ष शाहले विकासमा निकै पछाडि परेको नरैनापुरलाई विशेष रुपमा हेर्न आग्रह गर्नुभएको छ । “गाउँपालिकाको अवस्था निकै खराब छ, जनता समस्यामा छन्, न विजुली छ, न सिंचाई सुविधा छ, हामीले जनता समक्ष गरेका प्रतिबद्धता पुरा गर्न संघीय सरकारले सघाउन जरुरी छ,” शाहले भन्नुभयो । शाहले आफु निर्वाचित भएर आएदेखि नरैनापुरले विस्तारै काँचुली फेरिरहेको बताउँदै थप विकास र समृद्धिका लागि संघीय सरकारले पिछडिएको क्षेत्र नरैनापुरलाई विशेष रुपमा हेर्नुपर्ने भन्दै ध्यानाकर्षण गराउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *