नरैनापुरमा ४ घर र गोठ जले


बाँके । बाँकेको नरैनापुर गाउँपालिका वडा नम्बर १ कट्कुइँयामा आगलागी हुँदा ४ वटा घर र गोठ जलेका छन् । विहीबार साँझ ५ बजेतिर लागेको आगो गाउँपालिकाको दमकलले आधा घण्टामै नियन्त्रणमा लिएपछि ठूलो क्षति हुन नपाएको इलाका प्रहरी कार्यालय भगवानपुरका प्रहरी निरिक्षक विरेन्द्रबिर विश्वकर्माले जानकारी दिनुभयो ।
गाउँपालिकाको दमकल, प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिएका थिए । आगलागीबाट ठाकुर अहिर, खुलेराम अहिर, रामाशंकर अहिर र जित अहिरको फुसले छाएको घरगोठ जलेको विश्वकर्माले बताउनुभयो । खाना पकाउन बालिएको आगोबाट आगलागी भएको हुन सक्ने विश्वकर्माले बताउनुभयो । आगलागीबाट केही लत्ताकपडा र अन्नपात जलेको उहाँले जानकारी दिनुभयो ।
गाउँपालिकामै दमकल भएकाले पहिले जस्तो ठूलो क्षति हुनबाट जोगिएको गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बताउनुभयो । क्षतिको अवस्था हेरेर पीडितहरुलाई गाउँपालिकाका तर्फबाट राहत वितरण गरिने शाहले जानकारी दिनुभयो । फुसले छाएको र नजिक नजिक घर भएका कारण गर्मीयाममा बर्षेनी आगलागीबाट नरैनापुरमा ठूलो क्षति भइरहेको कुरालाई दृष्टिगत गरी गत बर्ष गाउँपालिकाले दमकल खरिद गरेको प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले बताउनुभयो । गाउँपालिकालाई फुसरहित बनाउने अभियान पनि चलिरहेको समेत बस्नेतले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *