लगानी सम्मेलनको आज बिहान ९ बजे उद्घाटन हुने

बाँके । सरकारले आर्थिक समृद्धिको लक्ष्यलाई केन्द्रमा राखेर आयोजना गर्न लागेको लगानी सम्मेलनको आज बिहान ९ बजे उद्घाटन सत्रको कार्यक्रम हुनेछ । सो सत्रलाई प्रधानमन्त्री ओलीले विशेष सम्बोधन गर्नुहुनेछ । यस्तै अर्थमन्त्री डा युवराज खतिवडा, सम्मेलनमा म्यान्माका लगानी तथा विदेश आर्थिकसम्बन्धी मन्त्री यू थाउङ टुन, विश्व बैंकका उपाध्यक्ष हार्टवीग स्याफर, एशियाली विकास बैंकका उपाध्यक्ष सिजिन चेन र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी लगायतले सम्बोधन गर्नुहुनेछ ।

आज नै नेपालमा लगानीको अवसर विषय छलफल हुनेछ । बोर्डले तयार पारेको कार्यतालिका अनुसार ‘ऊर्जा र सूचना तथा प्रविधि’ विषयक छलफल र व्यवसायमा महिला र युवा उद्यमशीलताको विकासका विषयमा समेत छलफल हुनेछ ।

भोलिसम्म चल्ने सम्मेलनमा कृषि, जलविद्युत्, उद्योग, पर्यटन, यातायात शहरी पूर्वाधार एवं शिक्षा तथा स्वास्थ्य क्षेत्रसम्बन्धी परियोजना प्रस्तुत गरिनेछ । सम्मेलनलाई नै ध्यानमा राखेर सरकारले हालै सङ्घीय संसद्बाट ‘सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन’, ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन’ पारित गर्नुका साथै ‘विशेष आर्थिक क्षेत्रसम्बन्धी ऐन’ समेत संशोधन गरिसकेको छ ।

सम्मेलनमा एशियाली पूर्वाधार लगानी बैंकका लगानी तथा कार्यसञ्चालनसम्बन्धी उपाध्यक्ष होङ ली तथा माइक्रोसफ्ट, अमेजन, पावर चाइना, चाइना रेल्वे, डाबर, युनिलिभरलगायतका विश्व प्रसिद्ध कम्पनीका उच्चपदस्थ व्यक्तिको सहभागिता रहनेछ । सरकारको सङ्कल्पका रूपमा रहेको ‘समृद्ध नेपाल, सुखी नेपाली’लाई सफल बनाउनसमेत सम्मेलन महत्वपूर्ण अवसर भएको स्पष्ट पारेको छ ।

सम्मेलनमा रु ६४ करोडदेखि रु तीन खर्ब ५० अर्बसम्मका परियोजना प्रस्तुत हुनेछन् । मुलुकको समृद्धिको प्रमुख आधारका रुपमा रहेको ऊर्जा क्षेत्रलाई विशेष प्राथमिकतामा राखी आठ ठूला परियोजना पनि छनोट गरिएको छ । त्यसमा नलगाड जलविद्युत् आयोजना, एआर–६, सुनकोशी दोस्रो र तेस्रो, तमोर जलाशयुक्त आयोजना, पश्चिम सेती, तल्लो अरुण, पश्चिम सेती र एसआर–६ संयुक्तलाई प्रमुख आयोजनाका रुपमा राखिएको छ । बोर्डका अनुसार रु ३१ खर्ब बराबरको परियोजनाको सूची तयार गरिएको छ ।

विसं २०४६ को परिवर्तनपछि बनेको सरकारले विसं २०४८ मा लगानी सम्मेलनको आयोजना गरेको थियो । यस्तै दुई वर्ष पहिले २०७३ सालमा पनि लगानी सम्मेलनको आयोजना गरिएको थियो । अघिल्ला सम्मेलनमा आयोजनाको अवस्थाका बारेमा जानकारी नदिइ केवल सैद्धान्तिकरुपमा मात्रै प्रस्तुत गर्ने गरिएकामा यसपटकको सम्मेलनमा भने लगानीकर्तालाई परियोजनाको सम्पूर्ण जानकारी र अवस्थाबारे समेत जानकारी गराइनेछ ।यो खबर जनताटाईमा प्रकाशित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *