कार्यकर्ताको साथमा पार्टीको नेतृत्व गर्छुः महामन्त्री कोइराला


बाँके । नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले आपसी एकता नहुँदासम्म पार्टी सुदृढ नहुने बताउनुभएको छ । नेपाली कांग्रेस बाँकेले आज नेपालगञ्जमा आयोजना गरेको पार्टी कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री डा.कोइरालाले आपसी तिक्तता र बैरभाव अन्त्य भएर पार्टी एक ढिक्का नभए अस्तित्व नै संकटमा पर्ने भन्दै सबै मिलेर एकताबद्ध हुन जरुरी रहेको आवश्यकता औंल्याउनुभयो ।
आफू पार्टीको नेतृत्व गर्न तयार रहेको भन्दै उहाँले आफूलाई सहयोग गर्न कार्यकर्ताहरुलाई आग्रह पनि गर्नुभयो । ‘तपाईंहरु आगामी महाधिबेशनमा मलाई सहयोग गर्नुस, म सधैं तपाईंहरुलाई साथ दिनेछौं, तपाईंहरुकै साथमा हुनेछु,’ उहाँले भन्नुभयो । केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री दिपक गिरीले शिर्ष नेताहरुले एक आपसमा माला लगाउँदै पार्टीलाई एक भएर अगाडि लैजाने कुरा गरिरहे पनि व्यवहारमा एकता नदेखिएको भन्दै मिलेर पार्टीलाई सशक्त बनाउन आग्रह गर्नुभयो । अहिलेको आवश्यकता हृदयगत एकता भएको गिरीले बताउनुभयो ।
केन्द्रीय सदस्य किशोरसिंह राठोरले पार्टीलाई क्रियाशील र गतिशील बनाउनुको विकल्प नभएको राठोरको भनाई छ । अर्का केन्द्रीय सदस्य कल्याण गुरुङ्गले लोकतन्त्रका मूल्य मान्यतामा कांग्रेसले कुनै सम्झौता हुन नदिने बताउनुभयो ।

कार्यक्रममा बर्दिया जिल्ला सभापति एवम् सांसद् सञ्जय गौतम, कांग्रस बाँकेकी सभापति किरण कोइराला, उप सभापति सुनिल नरसिंह राणा, सचिवद्वय तप्त पाडेल र कपिल शर्मा, सहसचिव रामकुमार राँढ लगायतले बोल्नुभएको थियो । महामन्त्री कोइरालाले आजै पार्टी कार्यालयको थपिएको दोस्रो तलाको पनि उद्घाटन गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *