बाँकेमा ३३ केन्द्रबाट एसइई परिक्षा दिने ८ हजार २ सय

बाँके । आज देखि संचालन हुने एसइई परिक्षाका लागि बाँके जिल्लामा सम्पूर्ण तयारी भएको छ । बाँके जिल्लाका आठवटा पालिकका ३३ वटा केन्द्रमा एसइई परिक्षा संचालन भएको छ । जिल्लामा एसइई परिक्षामा ८ हजार २ सय विद्यार्थी सहभागि हुने जिल्ला शिक्षा ईकाइ प्रमुख गोर्खबहादुर थापाले जानकारी दिनु भयो । आज विहान ८ बजेबाट संचालन हुने परिक्षाका लागि सबै केन्द्रमा केन्द्राध्यक्ष, सुरक्षाकर्मी र अन्य कर्मचारी केन्द्रमा पुगेको थापाले जानकारी दिनु भयो ।

यस वर्षको माध्यमिक शिक्षा परीक्षामा कुल चार लाख ७५ हजार तीन परीक्षार्थी सहभागी हुने परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) सानोठिमीले जानकारी दिएको छ । गत २०७४ सालमा चार लाख ६३ हजार सात सय परीक्षार्थी सम्मिलित भएका थिए । परीक्षा चैत २१ गतेसम्म सञ्चालन हुनेछ ।

परीक्षा नियन्त्रक विष्णु अधिकारीले शैक्षिक सत्रमा कम्तीमा ७५ प्रतिशत हाजिरी पुग्नुपर्ने व्यवस्था भएकाले सो हाजिरी नपुगेका कतिपय विद्यार्थी परीक्षामा सम्मिलित हुन नपाउने भएकाले सहभागी हुने भनिएका परीक्षार्थीको सङ्ख्या घट्न सक्ने बताउनुभयो । नियमिततर्फ चार लाख ५० हजार १८६ परीक्षार्थी सहभागी हुँदैछन् । उहाँका अनुसार देशभरि एक हजार ९६९ परीक्षा केन्द्र कायम गरिएको छ ।

यसपटकबाट सातवटै प्रदेशमा साधारणतर्फका अनिवार्य छवटा विषयको छुट्टछुट्टै प्रश्नपत्र तयार गरिएको छ । संस्कृत र प्राविधिकतर्फका परीक्षार्थीका लागि भने एउटै प्रश्नपत्र हुनेछ । परीक्षामा ७२ हजार ६७१ जनशक्ति परिचालन हुनेछन् । तीमध्ये सुरक्षाकर्मीमात्र २९ हजार ५३५ छन् ।

यस वर्षबाट एसईई परीक्षा प्रदेशमार्फत सञ्चालन हुने भनी सरकारले घोषणा गरे पनि सङ्घीय सरकारले हस्तान्तरण नगरेको र प्रदेशले सञ्चालनका लागि चासो नदिएकाले सङ्घमार्फत परीक्षा सञ्चालन गरिएको छ ।

बाँके जिल्लाका आठवटा पालिकका ३३ वटा केन्द्रमा परिक्षा संचालन भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *