उद्यमी महिलालाई सम्मान

बाँके ।महिला उद्यमीले उत्पादन गरेका सामानको बजारीकरण गर्न नेपालगन्जमा ‘महिला उद्यमी प्रोत्साहनका लागि महिला उद्यमीहरुद्वारा उत्पादित बस्तुहरुको प्रदर्शनी मेला–२०७५’ सुरु भएको छ । हरेक बर्षझैँ महिला उद्यमी संघ, बाँकेले आयोजना गरेको मेलामा बाँकेका उद्यमी महिलाले उत्पादन गरेका हस्तकला, मस्यौरा, खेलौना, खाने तेल, झोला, लत्ताकपडा, तरकारी लगायतका बस्तु विक्रीका लागि राखिएका छन् ।
उद्यमी महिलाले उत्पादन गरेको बस्तुको प्रचार प्रसार गरि बजारीकरण गर्न मेला आयोजना गरिएको महिला उद्यमी संघ, बाँकेका अध्यक्ष सुशीला गौतमले बताउनु भयो । मेलामा ५० बढि महिलाले आफूले उत्पादन गरेका बस्तु राखेको बताउँदै उनले पहिलेको तुलनामा उद्यमी महिलाको संख्या बढ्दै गएको वताउनु भयो ।
मेला उद्घाटन कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शमशेर राणाले महिलाले अवसर पाए पुरुषभन्दा राम्रो उद्यम संचालन गर्न सक्ने बताए । उनले बातावरण प्रदुषण न्यूनिकरणमा टेवा पुग्ने बस्तु उत्पादनमा जोड दिनु भयो ।
प्लाष्टिक मुक्त उपमहानगर बनाउने अभियानमा रहेको बताउँदै उनले प्लाष्टिकजन्य बस्तुको ठाउँमा लुगा र कागजका झोला बनाउने उद्योगलाई प्रोत्साहन गर्ने बताए । ‘प्रदुषण नहुने उद्योग संचालन गर्ने महिला उद्यमी सँग उपमहानगर सहकार्य गर्न तयार छ,’ उहाँले भन्नु भयो ।
चार जना उद्यमी महिला सम्मानित
महिला उद्यमी संघले चार जना उत्कृष्ट महिला उद्यमीलाई सम्मान गरेको छ । घर ब्यवहार सँगै उद्यम गरेर उदाहरणिय कार्य गरेको भन्दै संघले चार जना उत्कृष्ट महिला उद्यमीलाई कदर पत्रसहित दोसल्ला ओढाएर सम्मान गरेको अध्यक्ष सुशिला गौतमले बताउनु भयो ।
पञ्चशील हस्तकला केन्द्रकी निरु चौधरी, मनकामना सिमन्ट टायल उद्योगकी मिना गौडेल, लुम्विनी गार्मेन्टकी काली मियाँ र आशा सार्कीलाई संघले सम्मान गरेको हो । गृहणी महिलाका भूमिकामा समेत रहेका महिलाले उद्यम गरेर प्रेरणाको स्रोत बनेकोले सम्मान गरिएको संघ, बाँकेका पूर्व अध्यक्ष सरस्वती शर्माले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *