राप्तीसोनारीमा एकिकृत सरकारी घुम्ती सेवा

बाँके । राप्तीसोनारी गाउँपालिकामा सोमबार एकिकृत घुम्ती सेवा तथा सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको छ । बाँकेका विभिन्न सरकारी कार्यालयले राप्तीसोनारी गाउँपालिका कार्यालय अगैयामा पुगेर सर्बसाधारणलाई आफ्नो सेवा दिएका हुन् । राप्तीसोनारी गाउँपालिकाको सहयोगमा जिल्ला प्रशासन कार्यालय बाँकेले एकिकृत घुम्ती सेवा तथा सार्वजनिक सुनुवाई कार्यक्रम गरेको हो ।
घुम्ती सेवामार्फत राप्तीसोनारी गाउँपालिकाभरीका करिव ११ सय जनाले प्रत्यक्ष र १५ सय जनाले अप्रत्यक्ष रुपमा सेवा लिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जानकारी दिएको छ । सोही कार्यक्रममा २ सय ५ जनालाई नागरिकता प्रमाणपत्र वितरण र निर्वाचन कार्यालयबाट ७६ जनाको मतदाता नामावली दर्ता गराइएको प्रमुख जिल्ला अधिकारी मदन भुजेलले जानकारी दिनुभयो । त्यस क्रममा राप्तीसोनारी–५ बिनौना गाउँ ब्लकका ८७ जना किसानलाई नापी कार्यालयले लालपुर्जा वितरण गरेको उहाँले बताउनु भयो । यस्तै नेपाली सेनाले सञ्चालन गरेको शिविरबाट २ सय ९ जनाले स्वास्थ्य परिक्षण गराएर औषधी लगेका छन् । स्वास्थ्य परिक्षण गराएका सर्बसाधारणलाई गाउँपालिका कार्यालय र नेपाली सेनाले निःशुल्क औषधी उपलब्ध गराए ।
स्वास्थ्य शिविरमा ३ सय १२ जनाले फत्तेबाल आँखा अस्पतालका स्वास्थ्यकर्मीमार्फत आँखा जाँच गराए भने, ३७ जनाले दाँत परिक्षण गराएका छन् । कार्यक्रममा डिभिजन वन कार्यालय बाँकेले राप्तीसोनारीका १० वटा सामुदायिक वन समुहलाई अग्नी नियन्त्रण सामाग्री हस्तान्तरण गरेको छ । त्यसक्रममा सशस्त्र प्रहरी बलले विपद ब्यवस्थापन सम्बन्धी सामाग्री प्रर्दशन गरेको थियो । घुम्ती सेवा सञ्चालनका क्रममा कृषि, पशु सेवा, हुलाक, नेपाल टेलिकम, स्वास्थ्य कार्यालय, मत्स्य विकास लगायत सरकारी निकायले पनि सर्बसाधारणलाई आफ्नो सेवा उपलब्ध गराएका छन् ।
आफ्नै ठाउँमा सेवा पाउँदा सर्बसाधारणलाई राहत मिलेको छ । सदरमुकाम नेपालगन्ज र कोहलपुरमा हुने काम राप्तीसोनारीमै गराउन पाउँदा उनीहरु दंग देखिन्थ्ये । राप्तीसोनारी–५ बिनौनाका बृद्ध चेतराम थारुले गाउँ ब्लकको लालपुर्जा आफ्नै ठाउँमा पाउँदा खुसी ब्यक्त गर्नु भयो । राप्तीसोनारी–१ कुसुमका युवा ज्ञानबहादुर कुमालले आफ्नै ठाउँमा कम खर्चमा छिटो छरितो हिसाबले नागरिकता प्राप्त गरेको बताउनु भयो ।
त्यसक्रममा आयोजित सार्वजनिक सुनुवाईमा उपस्थित भएका सर्बसाधारणले बिद्युत, सडक, सिक्टा सिँचाइ, सुकुम्वासी समस्या, टेलिफोन सेवा, महिला हिंसा नियन्त्रण, नदी तथा खोलामा सञ्चालित ठेक्का प्रक्रिया, अबैध उत्खनन लगायत विषयमा जिल्लाका सरकारी कार्यालय प्रमुख र जनप्रतिनिधीलाई जिज्ञासा राखेका थिए ।
सो क्रममा सम्बोधन गर्दै प्रमुख अतिथी एवम् प्रदेश कृषि मन्त्री आरती पौडेलले राप्तीसोनारीको विकासका लागि आफुले पहल गरिरहेको बताउनु भयो । उहाँले राप्तीसोनारीको फत्तेपुरलाई स्मार्ट कृषि गाउँ बनाउन लागेको जानकारी दिनुभयो । प्रदेश सांसद कृष्णा केसीले राप्तीसोनारीको बिद्युतीकरण, सडक स्तरोन्नती लगायत विकास निर्माणको काममा आफुले विशेष पहल गरिरहेको बताउनु भयो ।
सर्बसाधारणले राखेको जिज्ञासको जवाफ दिदै राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले प्रमुख प्रशासकिय अधिकृत र लेखा अधिकृत नहुँदा एक महिनादेखी काम ठप्प भएको गुनासो गर्नुभयो । गाउँपालिकालाई कर्मचारी पठाईदिन संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयमा पटक–पटक अनुरोध गर्दापनि सुनुवाई नभएको दुखेसो पोख्नु भयो ।
संघीय सरकारले कर्मचारी नपठाएर गाउँपालिकालाई फेल गराउन खोजेको अनुभुती आफुलाई भईरहेको उहाँको भनाई छ । राप्तीसोनारी गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्रीले सहभागीलाई धन्यवाद ज्ञापन गर्दै सबैको सहकार्यले मात्र राप्तीसोनारीको विकास हुने धारणा राख्नु भयो । त्यस क्रममा प्रमुख जिल्ला अधिकारी भुजेल, जिल्ला प्रहरी प्रमुख एसपी अरुण पौडेल लगायत सरकारी कार्यालयका प्रमुखले आफ्नो कार्यालयले गर्ने सेवा प्रवाहबारे धारणा राख्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *