नेपालमै चारपांग्रे सवारी साधन बनाउने

बाँके । नेपालमै चारपांग्रे सवारी साधनको एसेम्बलिङ अर्थात् समायोजन हुने भएको छ । कोरियन कम्पनीले ‘भेहिकल एसेम्बलिङ प्लान्ट’ गर्ने भएको हो । यसअघि नेपालमा गोल्छा समुहले एसेम्बलिङ गर्ने गरेको भए पनि सो केही समयपछि नै बन्द भएको थियो ।

कोरियन कम्पनीले एसेम्बलिङ गर्ने भएपछि नेपालमै चारपांग्रे सवारी साधन बन्ने र मुल्य समेत कम हुने बताइएको छ । विभिन्न देशमा बनेका पाट पूर्जा ल्याएर जडान गर्ने कामलाई एसेम्बलिङ भनिन्छ । शुक्रबार बसेको लगानी बोर्डको बैठकले कोरियन कम्पनीलाई १० अर्ब बढीको लगानी गर्न स्वीकृत गरेपछि बाटो खुलेको हो । कम्पनीले १० अर्ब ५४ करोड खर्चेर ‘भेहिकल एसेम्बलिङ प्लान्ट’ निर्माण गर्ने प्रस्ताव बोर्ड समक्ष गरेको थियो । शुक्रबार साँझ प्रधानमन्त्रीको अध्यक्षमा सिंहदरबारमा बसेको बोर्ड बैठकले यो लगानीलाई स्वीकृत गर्ने निर्णय गरेको प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

यसअघि नेपालमा गोल्छा समूहले चारपांग्रे सवारीको एसेम्बलिङ सुरू गरेको थियो । हाल सो गाडीको उत्पादन बन्द भइसकेको छ । मुस्ताङ ब्राण्डको सो गाडी तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले प्रयोग गरेका थिए । त्यसपछि गोल्छा समूहले केही गाडी उत्पादन गरे पनि त्यसले बजार लिन नसकेपछि बन्द भएको थियो । नेपालमा हाल दुई पांग्रे गोल्छा समूहकै अगुवाईमा बजाजका केही बाइकहरू एसेम्बलिङ हुने गरेका छन् ।

यसैगरी बोर्ड बैठकले निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाको पहुँच मार्गका सम्बन्धमा देखिएको समसया समाधान गर्न स्थानीय जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा एक कार्यदल बनाएको छ । यो कार्यदलले दिने सुझावका आधारमा अरुण तेस्रो जलविद्युत आयोजनाको पहुँचमार्गको समस्या हल गर्ने योजना बोर्डको छ ।यो खबर जनता टाइममा प्रकाशित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *