आचार्यले ओहोदाको प्रमाणपत्र बुझाउनु भएको छ

बाँके । भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले ओहोदाको प्रमाणपत्र बुझाउनु भएको छ । केही साता अघि नै उहा भारत पुग्नुभएपनि बुधबारमात्रै उहाले त्यहाका राष्ट्रपति रामनाथ कोविन्दसमक्ष ओहोदाको प्रमाणपत्र बुझाउनु भएको हो ।

भारतीय राष्ट्रपति कार्यालयमा आयोजित एक समारोहमा राजदूत आचार्यले ओहोदाको प्रमाणपत्र बुझाउनु भएको थियो । नयाँ दिल्लीको कार्यभार सम्हालेको २३ औं दिनमा आचार्यले ओहोदाको प्रमाणपत्र बुझाउनु भएको छ ।

त्यसपछि राजदूत आचार्यले राष्ट्रपति कोविन्दसँग शिष्टाचार भेटवार्ता गर्नुभएको थियो । भेटमा नेपाल(भारतबीचको सदियौं पुरानो र बहुआयामिक सम्बन्धलाई थप सुदृढ पार्ने विषयमा चर्चा भएको नवनियुक्त राजदूत आचार्यले जानकारी दिनुभयो । त्यसैगरी आचार्यले संविधान सफल कार्यान्वयनपछि नेपालले आर्थिक विकासलाई प्राथमिकता राखेको समेत भेटमा चर्चा भएको थियो ।

‘नेपालमा अहिले राजनीतिक एजेण्डामा कुनै विवाद छैन, अब नेपाल सरकार समृद्ध नेपाल, सुखी नेपालको लक्ष्य कार्यान्वयनमा लागेको जानकारी गराएँ’, भेटपछि उहाले भन्नुभयो । राजदूत आचार्यका अनुसार नेपाल–भारत सम्बन्धको थप सुदृढीकारणको आवश्यकता पनि औंल्याइएको छ । भेटमा भारतीय राष्ट्रपति कोविन्दले दुई देशबीचको सम्बन्धका बारेमा चासो राख्नु भएको थियो ।

आचार्य गत फागुन ६ गते भारतका लागि नेपाली राजदूतमा नियुक्त भएर नयाँ दिल्ली पुग्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *