महिला साफ च्याम्पियनसिप फुटबल दिउँसो ३ बजे

बाँके । पाँचौ महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता आजबाट विराटनगरमा सुरु हुँदैछ। विराटनगरको सहिद रंगशालामा हुने उद्घाटन खेलमा नेपालले भुटानसँग खेल्दैछ। खेल दिउँसो ३ बजे हुनेछ।

नेपाल पहिलो खेलमा सानदार जित निकाल्न चाहान्छ। नेपालका प्रशिक्षक हरि खड्का र निरु थापाले प्रतिस्पर्धामा नेपालले उपाधि बताउँदै नेपालमा प्रतियोगिता भएकाले टोलीको मनोबल उच्च रहेको धारणा व्यक्त गरेका छन्।

प्रशिक्षक खड्काले पहिलो दिन स्वभाविक खेल पस्कने बताए। नेपालले अहिलेसम्म भुटानसँग खेलेका सबै खेलमा जित हात पारेको छ भने कुनै पनि गोल खाएको छैन।

भूटानका प्रशिक्षक र कप्तानले भविष्यलाई ध्यानमा प्रतिस्पर्धा गरिरहेको चर्चा गर्दै वर्तमान अवस्थामा नेपाली खेलाडीहरु शक्तिशाली रहेको बताएका छन्। बङ्गलादेशका प्रशिक्षक गोलम रावानीले नेपाली टोली शक्तिशाली रहेको बताउँदै आफ्नो देश फाइनलमा पुग्ने विश्वास व्यक्त गरे।

भारतीय टोलीका प्रशिक्षक मामुल रवि र कप्तान फुसलता देवीले प्रतियोगिताको प्रथम स्थान हासिल गर्ने भन्दै फाइनलमा अन्य कुन देशको टोलीसँग प्रतिस्पर्धा हुने हो त्यो अहिले भन्न नसकिने बताए।

माल्दिभ्सका प्रशिक्षक मोहम्मद अकिव र कप्तान फदुवा जहिदले आफ्नो देश सेमिफाइनसम्म निश्चित रुपमा पुग्ने धारणा व्यक्त गरे। श्रीलङ्का महिला टोली प्रशिक्षक तिलक रोहन र कप्तान इरानवी कुमुदुलावाले युवा खेलाडी सहभागी आफ्नो देशको टोली सेमिफाइनल पुग्ने ग्यारेण्टी व्यक्त गरे।

प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ। यो समूहमा नेपालसहित बङ्गलादेश र भुटान छन्। समूह ‘बी’ मा भारत, माल्दिभ्स र श्रीलङ्का छन्। नेपालले पहिलो खेलमा भुटानसँग मंगलबार र दोस्रो खेल नेपालले २ चैतमा बंगलादेशसँग खेल्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *