नेपाली स्वतन्त्र रेडियोको समीक्षा

                                              भरत भुषाल, रुपन्देही

 

नेपालमा स्वतन्त्र रेडियो प्रसारणको दुई दशक पार भएको छ । यो अवधिमा रेडियो अभियानले विभिन्न घुम्तीहरू पार गरेको छ । माओवादी आन्दोलनको आरम्भसँगै शुरु हुने संयोग पाएको स्वतन्त्र रेडियो अभियानले लोकप्रियताको उत्कर्ष पनि देखेको छ । राज्य र विद्रोहीहरूको चरम दमन पनि भोगेको छ । अनेक स्वार्थ समूहको चलखेल भोग्दै लड्दै तङ्ग्रिदै अगाडि बढेको छ ।

सूचनामा छापा माध्यमकोे एकलौटी बर्चस्व रहेको समयमा स्वतन्त्र रेडियोहरूले अप्रत्याशित हलचल ल्याएका थिए । शहरका पढालेखाहरूमा सीमित रहेको सूचनालाई रेडियोहरूले एकाएक दार्चुलादेखि ताप्लेजुङसम्म ब्यापक बनाए । सूचनामा सामान्य नागरिकको सरल पहुँचको जवरजस्त आँधी स्वतन्त्र रेडियोहरूले ल्याए । यो एउटा सुनौलो अवसर स्वतन्त्र रेडियोहरूले पार गरेका छन् । आम रूपमा सूचना वा समाचार खोज्नुपर्छ वा लिनुपर्छ भन्ने कुरामा नागरिकहरुलाई आदत लगाउने काम रेडियोहरूले गरे । तर समय, प्रविधि र अवस्थामा परिवर्तन आएको छ । रेडियोहरूले विगतको सफलताको ब्याज खाएर बाँच्ने दिन घट्दैछ । समयले विगतलाई स्मरण गर्नसक्छ । तर निरन्तर बोकेर बस्दैन । स्वतन्त्र रेडियोले आफूलाई फेरि आर्जन गर्न थाल्नुपर्ने भएको छ । नत्र समय घर्कन सक्छ ।

अहिले नयाँ रेडियोहरू सञ्चालनको होड थिग्रिएको छ । धेरैजसो जिल्लामा रेडियोको संख्या आवश्यकताभन्दा बढी पनि छ र रेडियो सञ्चालकहरूलाई विभिन्न दवावहरु बढेका पनि छन । गत बर्ष सामुदायिक रेडियो प्रसारक संघको साधारण सभामा म पनि पोखरामा सहभागी हुने अवसर पाएको थिएँ । त्यहाँ एउटा अन्तर्कृयामा धेरैजना रेडियो सञ्चालकहरूले, संघले काठमाण्डौबाट धेरै कार्यक्रम उत्पादन गरेर सदस्य रेडियोहरूलाई उपलब्ध गराउनु प¥यो भन्ने माग राख्नुभएको थियो । मैले त्यस्तो कुरामा फरक भनाइ जाहेर गरेको थिएँ । हामी यसै पनि धेरै कुरामा काठमाण्डौ केन्द्रित भएका छौँ ।

सरकारदेखि दाता र कार्यक्रम अनि बजार समेत काठमाण्डौ केन्द्रित भएकाले कार्यक्रमको स्वरूप, शैली र विषयवस्तु समेत काठमाण्डौमय भएका छन् । रेडियोलाई स्टेशन मात्र होइन विषयबस्तुको छनौटमा पनि स्थानीयकरण आवश्यक छ जो कम भइरहेको छ भन्ने मेरो बुझाइ हो ।

कार्यक्रमका हिसावले सामुदायिक रेडियो मात्र होइन ब्यावसायिक रेडियोका रूपमा स्थापना भएका रेडियोहरूले पनि काठमाण्डौको मुख ताक्ने र भेटेसम्म काठमाण्डौका कार्यक्रमको रिले प्रसारण गर्ने कार्यले जिल्लाहरूमा धेरै रेडियोको औचित्य सङ्कटमा परेको छ । हिजो रेडियो किन शुरु गरियो ? हिजो के गरियो ? आज रेडियोको समयमा के परिवर्तन भएको छ ? चुनौती र प्रतिस्पर्धामा कहाँ फरक आएको छ ? अबको बाटो र लक्ष के हो भन्ने बारेमा रेडियोकर्मी, रेडियो सञ्चालक र यसका अभियानकर्ताहरूले मिहीन समीक्षा गर्ने समय आएको छ । सञ्चारका माध्यममा आएको प्राविधिक परिवर्तनले रेडियोलाई हिजो जसरी सोच्ने सुविधा छैन । फरक ढङ्गले सोच्ने बेला आएको छ ।
अहिले बजारमा हेर्ने हो भने विगतमा जस्तो रेडियो सेट किन्ने वा बेच्ने कारोवार घटेको छ । यसको अर्थ रेडियो सुन्ने चलनै घट्यो होइन , मोवाइल सेटको रेडियो एप्लिकेशनले रेडियो सेटको बजार घटायो ।

मोवाइलले एउटा ठूलो जमातलाई अनलाइन मिडियाहरूमा पु¥याएको छ भने सामाजिक सञ्जालले पनि नागरिकहरूको सूचनाको एकहदसम्मको भोक शान्त पारेको छ । यस अवस्थामा रेडियोले फरक स्वाद लिएर श्रोताहरूको नजाने, पुरानै तरिकामा यथावत रहने हो भने यसको हालत कसैले सपार्न सक्दैन । रेडियोको विधाता, विघ्नहर्ता रेडियोकर्मी र प्रसारकहरू नै हुन् । त्यहीँबाट समस्याको महसुस हुनु जरुरी छ ।

रेडियोको क्रेता र उपभोक्ताका बारेमा प्रष्ट हुनु जरुरी छ । यसको उपभोक्ताले कस्तो स्वादको चाहना गरेको छ र त्यसलाई कसरी स्वस्थ बनाउन सकिन्छ भन्नेबारेमा ब्यापक छलफल र अन्तर्कृृया आवश्यक छ ।

नागरिकले पाउने सूचना सत्ताका लागि त्रास हो । सूचित र सचेत नागरिक नहोऊन् भन्ने कामना हरेक सत्ताको हुने कटु यथार्थ हामीले भोगेको हो । कुनै समयका रेडियो सञ्चालकहरू विभिन्न कालखण्डमा सत्ताका खोपीमा पुग्न वा पहुँच बनाउन सफल भएका छन् । तर उनीहरूले विगतमा रेडियोका बारेमा भन्ने कुरा यथावत छन् , अर्थात् समस्या ज्यूँका त्यूँ रहेका छन् ।

सरकार रेडियोप्रति अनुदार भयो, कर्मचारीतन्त्र नकारात्मक भयो भन्ने कुरा नाटक र बहानावाजी मात्र हो । सिंगो हाम्रो राजनैतिक नेतृत्व र राजनैतिक दलका शीर्ष ब्यक्तिहरूले के चाहन्छन् ? जनताले सूचना पाउने कुरा उनीहरूको प्राथमिकताको वा स्वीकारको विषय हो कि नियन्त्रणका विषयमा उनीहरू रुचि राख्छन् भन्ने कुरा महत्वपूर्ण हो । आफ्ना निजी फाइदाका कुरामा सहजै पहुँच बनाउने र सहमत गराउन सक्ने अभियन्ताहरू सर्वजन हिताय र सर्वजन सुखायको यो विषयमा नेतृत्वलाई किन भन्न सक्दैनन् ।

अरु समयमा मिडियाको नाउँमा सत्ताको वरिपरि घुमिरहने तर जब मिडियाको कुरा आउँछ त्यसबेला मौन देखिने विशिष्ट रोगले हाम्रा मिडियाका मसिहा पनि ग्रस्त पाइन्छन् । केही थान पुरस्कार, केही कन्सल्टेन्सिका लोभमा सत्ताका गलत कुरामा प्रतिवाद गर्न नचाहने, सल्लाहकार वा यस्तै लाभका पदको लोभमा आफ्नो धरातल बिर्सने मिडिया नेतृत्वले समस्या समाधानमा वास्ता गर्दैन भन्ने कुरा देखिएको छ । प्रोजेक्ट, अवसर र पुरस्कार यस्तैयस्तै गोलचक्करमा उनीहरू रुमल्लिरहेका छन ।

देशभरि स्थानीय सरकारहरू छन् । यिनीहरू गाउँ गाउँका सिंहदरवार भएर बसेका छन् । सूचना भनेको निमोठ्नुपर्ने हो भन्ने केन्द्रीय सत्ताको सिको गर्ने हुन् कि भन्ने खतरा उत्तिकै छ । स्थानीय रेडियोलाई विकास निर्माणमा सहयोगी औजारका रूपमा प्रयोग गर्ने हेक्का थोरै सरकारहरूमा मात्र छ । रेडियोहरूले विकास निर्माणमा जन सहयोग र चासो बढाउन, स्थानीय सरकारका प्रयत्नमा कसरी नागरिकहरूलाई सामेल गर्न सक्छन् भन्नेतर्फ होइन, पदाधिकारीको आरती गाउन रेडियो सञ्चालन गर्ने कुरा पनि समय समयमा देखा परेका छन् ।

रेडियोहरू विकास र जागरणका औजार हुन् भन्ने कुरा स्थानीय सरकारले थाहा पाउनुपर्छ। रेडियोहरूले आफ्नो अवस्थाको बोध गर्न र समस्याको निकास दिन सामूहिक र सक्रिय प्रयत्न आवश्यक छ । रेडियोहरूले आन्तरिक अवस्थाको एक तह सुधार नगरी बाह्य अवस्था सुधार गर्न अप्ठेरो होला । आन्तरिक समस्यालाई आफैँ निदान र निराकरण गरी अरु अवरोध छिचोल्न सामूहिक प्रयत्न आवश्यक छ । यो विचार परिसंवाद डट कमबाट साभार गरिएको हो ।

भरत भुषाल, रुपन्देही

Leave a Reply

Your email address will not be published. Required fields are marked *