जानकी गाउँपालिकामा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवश भव्य रुपमा मनाईयो


बाँके । आज ८ मार्च, १०९ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवशको अवसरमा जानकी गाउँपालिकास्तरी दिवस भव्य रुपमा मनाईएको छ ।

जानकी गाउँपालिका महिला तथा जेष्ठ नागरिक शाखाको आयोजनामा ६ वटै वडापालिका र विभिन्न गैरसरकारी संस्थाको पहलमा कार्यक्रम गरिएको हो । लैङ्गिक समानताका लागि समान सोच र व्यवहारः समृद्धिको आधार भन्ने मुल नाराका साथ महिलामाथि हुने सबै प्रकारका हिंसा अन्त्य गरौं, बालविवाह, बहुविवाहको अन्त्य गरौं, महिला पुरुष सबै मानव, मानवलाई मानवताको व्यवहार गरौं जस्ता नारा घन्काउदै विभिन्न वडाबाट आएका महिलाले गाउँपालिका कार्यालय प्राङ्गनमा कार्यक्रम गरेका थिए ।

कार्यक्रममा संविधान सभा सदस्य एवम् पूर्व सिचाइ मन्त्री दिनेशचन्द्र यादवले यो विश्वका श्रमिक महिलाले स्वतन्त्रताको अवसर पाएको दिन हो । समाज २१ औं शताब्दीमा सूचना प्रविधिमा प्रतिष्पर्धा गरिरहेकोले सबै महिलाले संविधानले प्रदान गरेका अधिकार प्रयोग गर्न पाउनु पर्दछ । नेपालको कानुनले महिला सहभागिता र समानताका लागि महिला अधिकारको सुनिश्चितता गरेकोले अब महिला अधिकारका लागि कानुन बनाउने लडाइ भन्दा कानुनको अक्षर अक्षर अनुसारको अधिकार पाउनु पर्ने धारणा राख्नु भएको थियो ।

जानकी गाउँपालिका अध्यक्ष राम निवास यादवले गाउँपालिकाले कार्यक्रम र बजेटमा आगमी दिनमा अझै महिला मैत्री र महिलाको आय स्तर बृद्धिका लागि प्राथमिकता दिने वताउनु भयो । महिला अधिकार र आयआर्जनका लागि गाउँपालिकाबाट भएका प्रयास प्रयाप्त नभएपनि अनुभवका आधारमा महिलाका ल्याईएका कुनै पनि योजना खेर नजाने र महिलाका पक्षमा प्रयाप्त कार्यक्रम र बजेट विनियोजन गरिने जानकारी दिनु भयो ।

गाउँपालिका उपाध्यक्ष भूमीसरा धितालले महिला अझै पछाडी परेको बताउदै, आगमी दिनमा गाउँपालिकामा पेश हुने योजनामा टोलस्तरबाटै महिलाले योजना छनौटमा हस्तक्षेप गर्न आग्रह गर्नु भयो भने महिला अब केबल अरुको आशा र भरोसामा बस्ने भन्दा पनि आफुलाई आफैले प्रश्न गर्ने बेला आएको वताउनु भयो । अब अरुले गरिदेला र आफु खाने भन्दा पनि आफ्ना लागि हरेक महिला जागरुक हुनु पर्ने उहाँको धारणा रहेको थियो ।

कार्यक्रममा महिला अधिकारकर्मी, विभिन्न राजनीतिक पार्टीका प्रतिनिधि, कर्मचारी, सर्वसाधारण करिब एक हजार महिलाको सहभागिता रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *