दार्चुलामा जिप दुर्घटना हुँदा ११ जनाको मृत्यु


बाँके । दार्चुलाको दुहुँ गाउँपालिका ३ राताकाठामा भएको जिप दुर्घटनामा परेर ११ जनाको मृत्यु भएको छ । शुक्रबार साँझ भएको दुर्घटनामा एक जना घाइते भएका छन। मृतकको शनाखत हुन सकेको छैन। महाकाली किनारबाट नेपाल प्रहरीले गरेको उद्धारमा तीन जना महिलाको शव भेटिएको छ । अझैपनि चार महिला, तीन पुरुष र एक नाबालकको शव भीरमा अड्किएको प्रहरी निरीक्षक रविन्द्र कठायतले बताउनु भयो ।
घाइते जिप चालक दिपकसिंह धामी गम्भीर घाइते भएको प्रहरीले जानकारी दिएको छ । म १ ज २८० नम्बर जिप दार्चुला खलंगा(तिंकर सडकको राताकाठा सडकखण्डबाट खस्दा झण्डै ३०० मिटर तल महाकाली किनारमा पुगेको प्रत्यक्षदर्शी जयबहादुर बमले जानकारी दिनु भयो । राति ८ बजेतिर भएको दुर्घटनामा परेकाहरूलाई उद्धार गर्न भीर र अँध्यारोले समस्या पारेको प्रहरी निरीक्षक कठायतले जानकारी दिनु भएको छ । दुर्घटनाको कारण खुल्न नसके पनि कम क्षमताको सवारी साधनमा धेरै यात्रु रहनु र सडक कच्ची हुनु रहेको प्रहरीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *