विपद पीडितका लागि आश्रय केन्द्र निर्माण

बाँक । प्राकृतिक विपदबाट पीडित ब्यक्ति र सामुदायिक कामका लागि राप्तीसोनारी गाउँपालिका वडा नम्बर ३ स्थित साईपुरमा बहुउद्देशीय आश्रय केन्द्र निर्माण गरिएको छ । राप्तीसोनारी गाउँपालिका, तराई भु–परिधी कार्यक्रम कोहलपुर, वन तथा वातावरण संरक्षण समन्वय समिति महादेवपुरी र स्थानीय बासिन्दाको श्रमदानबाट उक्त भवन निर्माण गरिएको हो । नवनिर्मित भवनको शुक्रबार उद्घाटन गरियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले नवनिर्मित भवनलाई बहुउद्देशीय काममा प्रयोग गर्न स्थानीय बासिन्दालाई आग्रह गर्नु भयो । राप्तीको बाढीबाट गाउँपालिकामा रहेका सबै वडा जोखिममा रहेको बताउँदै यस्ता भवन सबै वडामा बनाउनुपर्ने आवश्यकता औल्याउनु भयो । उहाँले भन्नुभयो, ‘गाउँपालिकाले कति प्रतिशत लगानी गर्नुपर्छ, लगानी गर्न हामी तयार छौं ।’ विपदलाई रोक्न नसकेपनि क्षति न्युनिकरण गर्न सकिने उहाको भनाई छ ।

यस्तै पुर्वमन्त्री प्रेमबहादुर भण्डारीले बाढी पीडितहरु पीडामा छट्पटाईरहेका बेला आश्रय केन्द्रले ठुलो राहत दिने बताउनु भयो । राप्तीसोनारीका सबै वडा प्रायः दैवी प्रकोप र बाढीबाट प्रभावित रहेको भन्दै अन्य वडामा पनि यस्ता भवन निर्माण गरेको खण्डमा पीडितले राहत महसुस गर्ने धारणा राख्नु भयो ।
यसैगरी गाउँपालिकाका उपाध्यक्ष धनीकुमारी खत्रीले राप्तीसोनारी गाउँपालिका सम्पदाको हिसाबले धनी भएपनि प्राकृतिक विपदको धेरै जोखिममा रहेको बताउनु भयो । राप्तीसोनारी गाउँपालिका वडा नम्बर ३ का वडाअध्यक्ष गंगाराम थारुले बाढीको उच्च जोखिममा रहेको उक्त ठाउँमा आश्रय केन्द्रको धेरै आवश्यकता रहेको बताउनु भयो । ‘बाढीको पुर्व तयारीका लागि जुन भवन बनेको छ, यहाँका बासिन्दा एकदमै खुसी हुनुहुन्छ,’ उहाँले भन्नुभयो ।

भवन निर्माणका लागि कुल ८४ लाख ९५ हजार ३ सय २९ रूपैयाँ लागत लागेको छ । भवन निर्माणमा लागि राप्तीसोनारी गाउँपालिकाले १७ लाख बजेट लगानी गरेको छ । यसैगरी तराई भु–परिधी कार्यक्रम र वन तथा वातावरण संरक्षण समन्वय समितिले निर्माणमा ५४ लाख ३१ हजार ३ सय ३० तथा ९ लाख ७४ हजार ९५ रुपैयाँ बराबरको सामग्री उपलब्ध गराएको छ, भने स्थानीय बासिन्दाले ३ लाख ८९ हजार ९ सय ४ रुपैयाँ बराबरको श्रमदान गरेको भवन निर्माण समितिका संयोजक एवम् वडा नम्बर ३ का वडाध्यक्ष गंगाराम थारुले जानकारी दिनुभयो । उक्त भवनमा ठुलो हलसहित महिला र पुरुष शौचालय, धारा, सोलार प्यानल लगायत पुर्वाधार रहेको छ । कार्यक्रममा थारु युवा, युवतीले आर्कषक नृत्य प्रस्तुत गरेका थिए ।

२०७४ सालको बाढीका कारण राप्तीसोनारी गाउँपालिकाको वडा नम्बर ३ र ४ सबैभन्दा प्रभावित भएको थियो । उक्त गाउँपालिकाको लालपुरमा एकै परिवारका ३ बालिकाको बाढीका कारण मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *