समृद्ध राप्तीसोनारी विमोचन


बाँके । राप्तीसोनारी गाउँपालिकाले पहिलो पटक प्रकाशन गरेको ‘समृद्ध राप्तीसोनारी’ बुलेटिन बुधबार विमोचन गरिएको छ । गाउँपालिकामा आयोजित कार्यक्रममा विमोचन गरिएको हो ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै पुर्वमन्त्री भण्डारीले राप्ती सोनारी गाउँपालिकालाई समृद्ध गराउन सबै एक भएर लाग्नुपर्नेमा जोड दिनुभयो । यहाँको समृद्धिका लागि बुलेटिन ऐना बन्ने उहाँको अपेक्षा छ । उहाँले भन्नुभयो, ‘राप्तीसोनारीको भौगोलिक अवस्था हेर्दा एकदमै कठिन छ, तर प्रकृतिका हिसाबले धेरै धनी छ, गाउँपालिकालाई समृद्ध बनाउनको लागि सबै एक भएर लाग्नुपर्छ ।’ बुलेटिनले सामुहिक रुपमा भएका सकारात्मक कामलाई समेट्ने विश्वास गर्नुभयो ।
राप्तीसोनारी, प्राकृतिक, धार्मिक र साँस्कृतिक रुपले धनी रहेको उहाँले जोड दिनुभयो । ‘राप्तीसोनारीमा उपलब्ध स्रोत साधनको प्रयोग र यहाँको रमणीय कुरा देखाउन पर्यटकलाई ल्याउन सकियो भने यो गाउँपालिका वास्तवमै समृद्ध बन्नेछ,’ उहाँले भन्नु भयो ।
कार्यक्रमका सभापति एवम् गाउँपालिका अध्यक्ष लाहुराम थारुले कसैको एक्लो प्रयासले मात्रै गाउँपालिकालाई समृद्ध बनाउन नसकिने बताउनु भयो । आफुहरु निर्वाचित भएर आएपछि धेरै राम्रा काम भएपनि प्रचार गर्न नसकिएको स्वीकार गर्दै समृद्ध राप्ती सोनारी बुलेटिनमार्फत जनताले अब थाहा पाउने विश्वास गर्नुभयो । उहाँले भन्नुभयो, ंंं‘हामीले धेरै नयाँ–नयाँ कामको सुरुवात गरेका छौं, जुन कुराहरु यो बुलेटिनमा समेटिएका छन्, तर कतिपय कुरा समेट्न नसकिएका पनि छन्, ती कुरालाई आगामी दिनमा बाहिर ल्याउनेछौं ।’ गाउँपालिकाको विकाससँगै चेतनाको पनि विकास हुनुपर्नेमा जोड दिनुभयो ।
शिक्षामा सुधार नल्याउँदा सम्म चेतनाको स्तरमाथी उठ्न नसक्ने भन्दै यसका लागि गाउँपालिकाले शिक्षमा विशेष पहल गरिरहेको बताउनु भयो । उपाध्यक्ष धनीकुमारी खत्रीले राप्तीसोनारीको विकासका लागि आफुहरुले अझै धेरै काम गर्न बाँकी रहेको बताउनु भयो । ‘जनताले हामीलाई जिताएर पठाए, दुई वर्षअघि हामी चुनाव लड्दा भोट माग्न जाँदा बाटो नभएको ठाउँमा अहिले गाडी चल्न थालेका छन्, जनप्रतिनिधी आएपछि केही न केही परिवर्तन पक्कै भएको छ,’ उहाँले भन्नुभयो ।
राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्ष मदन ओली, वडा नम्बर ३ का अध्यक्ष गंगाराम थारु, वडा नम्बर ४ का वडाअध्यक्ष कान्छा थारु, बाँके राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत पुरुषोतम शर्मा लगायतले शुभकामना मन्तब्यसहित राप्तीसोनारीलाई समृद्ध बनाउन बुलेटिनले प्रभावकारी बन्ने भनाई राख्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *