जानकी र नरैनापुर बाहेका, बाँकेका ६ पालिकामा स्मार्ट कृषि गाउँ


बाँके । स्मार्ट कृषि गाउँमा बाँकेको जानकी गाउँपालिका र नरैनापुर गाउँपालिका बाहेक ६ वटा पालिकामा स्मार्ट कृषि गाउँ बन्ने भएका छन् । प्रदेश ५ सरकारले प्रदेश स्मार्ट कृषि गाउँ मार्फत कृषि उत्पादनलाई दोब्बर बनाउने लक्ष्यसहित यो योजना बनाएको हो ।
बाँकेमा कोहलपुर नगरपालिकाको वडा नं. १३ खड्कवारबाट स्मार्ट कृषि गाउँ अभियान सुरु भई सकेको छ । कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालका अनुसार राप्तीसोनारी गाउँपालिका–७ फत्तेपुर सर्री, कोहलपुर नगरपालिका–१३ खड्गबार, खजुरा गाउँपालिका–२ सीतापुर, नेपालगन्ज उपमहानगरपालिका १२ को बेलासपुर क्षेत्र, बैजनाथ गाउँपालिका–४ को नौलापुर÷तिलकपुर, डुडुवा गाउँपालिका–३ बनकट्टी÷हल्बलडोली÷हल्कारापुर्वा गरी ६ वटा गाउँ छनोट गरिएको छ ।
स्मार्ट कृषि गाउँ कार्यक्रममा कृषकलाई उत्पादनको आवश्यक पर्ने पानी, मल, वीउ, माटो, प्राविधिक जनशक्ति व्यवस्थापनसँगै उत्पादनको बजारीकरणलाई समेत सहयोग गरिने प्रदेश ५ की भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले बताउनु भएको छ ।
पहिलो चरणमा एउटा प्रदेश निर्वाचन क्षेत्रमा एउटा गाउँलाई नमूना कृषि गाउँको रूपमा स्थापित गर्ने उद्वेश्यले प्रदेश सरकारले प्रदेशका ५२ वटा निर्वाचन क्षेत्रमा ५२ वटा स्मार्ट कृषि गाउँ बनाउने घोषणा गरेको थियो ।
यस बर्षको बजेटमा हरेक स्मार्ट कृषि गाउँलाई सरकारले ५०÷५० लाख रुपैयाँ बजेट समेत विनियोजन गरिसकेको छ । स्मार्ट कृषि गाउँ कार्यक्रम सन्चालन कार्य्विधि २०७५ अनुसार जलवायु समानुकूलित प्रविधि र अभ्यास अवलम्बन गरिने, सिँचाइमा २० देखि ३० प्रतिशत रकम, पोषक तत्वका लागि १० देखि २० प्रतिशत, ३० देखि ४० प्रतिशत स्मार्ट प्रविधिमा खर्च हुने उल्लेख गरिएको छ ।
स्मार्ट कृषि गाउँको लागि तराईका गाउँमा १ सय बिघादेखि २ सय बिघा जग्गा छनोट गरिएको छ भने पहाडी क्षेत्रमा भौगोलिक विकटताका कारण अलि कम क्षेत्रफल लिइएको मन्त्रालयले बताएको छ । एक स्मार्ट गाउँबाट १ सयदेखि १ सय ५० जनासम्म किसान लाभान्वित हुने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *