‘दलित’ भन्दै घरनिकाला, प्रहरीकै अगाडी कुटपिट


बाँके । सल्यान जिल्लाको कुमाख गाउँपालिका ६, च्याउखोलाकी एलिसा बिकलाई परिवारले ‘दलित’ भन्दै घरनिकाला गरेका छन । डेढ वर्षीया छोरी काखमा बोकेकी उहाँ अहिले बिचल्लीमा हुनु हुन्छ । २१ वर्षीया एलिसाले दुई वर्षअघि स्थानीय टीकाराम रावतसँग प्रेम विवाह भएको थियो  । ‘अहिले सासु ससुरामात्र होइन, श्रीमानले समेत कुटेर घरबाट लखेटे,’ उहाँ भन्नु हुन्छ, ‘म त जसरी पनि बाँच्थे होला, छोरीलाई के खुवाएर बचाउने भन्ने चिन्ता छ ।’

चार महिनाअघि घरबाट निकालिएकी उहाँ कहिले माइत त कहिले आफन्तकहाँ आधा पेट खाएर दिन गुजारिहनु भएको छ । यही पीडा पोख्न उहाँ सदरमुकाम खलंगा आउनु भएको छ । श्रीमानका साथै सासु प्रीतिकला र ससुरा भागीराम मिलेर घरबाट निकालेको उहाँले बताउनु भयो । ‘आहारा नपुगेर छोरी रोइरहन्छे, कहाँबाट ल्याएर खुवाउँ ?’ उहाँ भन्नु हुन्छ, ‘आफन्त र गाउँघरकाले पनि कति दिन खान दिउन ?’ घरनिकाला गर्नेविरुद्ध उजुरी गरे पनि कारबाही नभएको बताउनु हुन्छ ।
एलिसाले जातीय छुवाछूतको पीडा बिहे भएको केही दिनमै पाउन थालिसक्नु भएको थियो । सासू ससुराले बिहेलगत्तै छोरा बुहारीलाई घरबाट निकालेका थिए । तर, श्रीमान् टीकाराम घर फर्केर बाआमासँग बस्न थाले भने एलिसा माइतीको शरणमा पुग्नु भयो ।
‘दुवैलाई घरबाट निकाल्दा त केही पिर थिएन, उहाँ (श्रीमान)घर फर्किएपछि भने एक्लो महसुस भयो,’ उहाँले भन्नु हुन्छ, ‘हुँदाहुँदा बाआमासँग मिलेर मैमाथि अन्याय गर्न थाले ।’ छोरी जन्मिएपछि एलिसा घर फर्किइन्न । तर, परिवारले घर बस्न दिएन । बरु जिउलाको गोठमा गएर बस्न भन्यो । उहाँ श्रीमान्सँगै केही दिन गोठमै बस्नु भयो । श्रीमानले पनि रातदिन रक्सी खाएर कुटपिट गर्न थाले । ‘गोठमै भए पनि खानेकुरा जुटाउलान् भनेको त उल्टै रक्सी खाएर कुट्न थाले,’ उहाँ भन्नु हुन्छ, ‘जति सम्झाउँदा पनि भएन, त्यसपछि त सँगै बस्न सक्ने अवस्था रहेन ।’
दूधे छोरीसँग गोठमा बसिरहेको बेला सासू ससुरा आएर मार्ने धम्की दिन थालेपछि जीवनमा थप त्रासदी थपिएको उहाँ सुनाउनु हुन्छ । धारिलो हतियार ल्याएरै आएपछि भागेचौरस्थित इलाका प्रहरीमा शरण माग्न गएको उहाँको भनाइ छ । ‘मैले उजुरी दिएपछि प्रहरीले श्रीमान् र सासू ससुरालाई चौकीमा ल्यायो, तर मिलापत्र गराउन खोज्यो,’ उहाँ भन्नु हुन्छ, ‘त्यसपछि त उनीहरू प्रहरीकै अगाडि कुटपिट गर्न थाले, प्रहरीले पनि केही गर्न सकेन ।’ अहिले सुरक्षा खतरा बढदै गएपछि जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको उहाँ वताउनु हुन्छ । यो समाचार र फोटो कान्तिपुर प्रकाशित भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *