खजुराको प्रथम मेयर रनिङ शिल्ड खेल उद्घाटनसँगै स्थगित


बाँके । बाँकेको खजुरागाउँपालिकाको जनसेवा माध्यामिक विद्यालय गिजरामा शुक्रवारदेखि प्रथम मेयर रनिङ शिल्ड खेलकूद प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको बाँके क्षेत्र नंंं. ३ का संघीय सांसद नन्दलाल रोकायले उद्घाटन गर्नु भयो ।
खेल उद्घाटन भएपनि प्रतिकूल मौसमका कारण खेल अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको खजुरा गाउँपालिका प्रमुख तथा मेयर रनिङ प्रतियोगिता संचालन समितिका संयोजक किस्मतकुमार कक्षपतिले जानकारी दिनु भयो ।
नेकपा प्रदेश नं. ५ सचिवालय सदस्य डम्बर विक तुफानले एक आपसमा हुने खेल प्रतिस्पर्धाबाट खेलाडी जन्मिने बताउनु भयो । खजुरा गाउँपालिका शिक्षा समितिको आयोजना र जनसेवा माविको व्यवस्थापनमा फागुन ३ गतेदेखि ६ गतेसम्म संचालन हुने प्रतियोगिता अब भने मौसम हेरेर शुरु गरिने छ ।
प्रतियोगितामा खजुरा क्षेत्रका सामुदायिक, संस्थागत र मदरसा गरी ६५ विद्यालयका १ हजार ५ सय विद्यार्थीले सहभागिता जनाएका छन् । कक्षा ९–१२ मावि तह, कक्षा ६–८ निमावि र १–५ आधारभूत तीनै तहलाई प्रतियोगितामा सहभागिता गराइएकोमा आधारभूत तहका विद्यार्थीबीच केही खेलमा भने प्रतिस्पर्धा गराइएको थियो । प्रतियोगितामा मावि तर्फ प्रथम स्थान हासिल गर्ने विद्यालयलाई २० हजार, द्वितियलाई १० हजार र तृतीयलाई ७ हजार रुपैयाँको पुरस्कार व्यवस्था गरिएको छ भने कक्षा १ देखि ८ सम्मको विद्यालयका लागि क्रमश ः १० हजार, ७ हजार र ५ हजार पुरस्कार राशी राखिएको छ ।
कार्यक्रममा पूर्व मन्त्री दलबहादुर सुनार, खेलकूद विकास समिति प्रदेश नं. ५ का अध्यक्ष भीम वली, नेकपा बाँकेका पूर्व सचिव रत्न खत्री, खजुरा गाउँपालिका उपप्रमुख एकमाया विक, प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसी, क्यान्सर अस्पताल खजुराका निर्देशक डा. विश्वराम पौडेल लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *