संघीय सरकारसँग दुरी नरहेको, सहकार्य र सुमधुर सम्बन्धः मुख्यमन्त्री पोखरेल


बाँके । मुख्यमन्त्री शंकर पोखरेलले संघीयताले खर्च बढ्यो भन्नु गलत भएको दावी गर्नु भएको छ । प्रदेश नं. ५ को आज स्थापना दिवसमा बुटवलमा आयोजित कार्यक्रममा संवोधन गर्दै मुख्यमन्त्री पोखरेलले सो कुरा बताउनु भएको हो । संघीय व्यवस्थामा तीन तहका सरकारका लागि १५ प्रतिशत कर्मचारी र १५ प्रतिशत खर्च बढी लागे पनि जनताले सेवा लिन गर्नुपर्ने खर्च भने घटेको दावी गर्नु भएको हो ।
प्रदेश ५ सरकार स्थापना दिवसको कार्यक्रममा उनले कर्मचारी बढ्दा प्रशासनिक खर्च बढे पनि जनताको खर्च घटेकाले संघीयताले खर्च बढ्यो भन्ने तर्क गलत भएको तर्क गर्नु भयो । ‘संघीयता वा प्रदेश सरकार देख्न नचाहनेले संघीयताले खर्च बढायो भनेर भ्रम छरेका छन’ मुख्यमन्त्रीले पोखरेलले भन्नु भयोे, ‘तर विगतमा जनतालाई जिल्ला सदरमुकाम र राजधानी काठमाडौं धाउनुपर्दा लाग्ने सबै खर्च घटेको छ, यो कुरा हामीले बुझाउनुपर्छ ।’


संघीयता कार्यान्वयनमा आउनुअघि भन्दा अहिले कुल गार्हस्थ उत्पादन र आर्थिक वृद्धिदर पनि बढेको मुख्यमन्त्री पोखरेलले दावी गर्नु भयो । संघीयता कार्यान्वयनका सन्दर्भमा प्रदेश ५ सरकार र संघीय सरकारबीच कुनै दुरी नरहेको बरु सहकार्य र सुमधुर सम्बन्ध रहेको उहाँले बताउनु भयो ।
शून्य संरचनाबाट काम शुरु गर्नुपरेकाले विकासको गति लिन नसके पनि जनतामा भरोसा पैदा गर्न सकेको गरेको पोखरेलको भनाइ छ । ‘संघीयताको महत्वपूर्ण आधार प्रदेश सरकार हो भन्ने स्थापित गरेका छौं’।
केन्द्र सरकारबाट साझा सूचीका कानुन निर्माण र संविधानसंग बाँझिएका पुराना कानुन संशोधनमा विलम्ब भएकाले प्रदेश सरकारले जनताले अपेक्षा गरेअनुसार काम गर्न नपाएको उहाँले स्वीकार गर्नु भयो ।
प्रदेशको विकास र समृद्धिको आधार कृषि भएकाले भूमिहीनलाई करार खेती, ५२ निर्वाचन क्षेत्रमा स्मार्ट कृषि गाउँ, मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमलगायतका नौला कार्यक्रम कार्यान्वयनमा आएका मुख्यमन्त्री पाखरेलले उल्लेख गर्नुभयो ।
प्रदेशको दीर्घकालीन समृद्धिको आधार पर्यटन भएको उल्लेख गर्दै उहाँले अब लुम्बिनीको पर्यटन प्रवर्द्धनको जिम्मेवारी संघले प्रदेश सरकारलाई दिनुपर्ने बताउनु भयो । लुम्बिनी गुरुयोजना र अन्य विकास निर्माण लुम्बिनी विकास कोषले गरे पनि पर्यटन प्रवर्द्धनको जिम्मा प्रदेश सरकारलाई दिन संघीय सरकारलाई आग्रह गरिसकिएको उहाँले वताउनु भयो ।


बुद्ध पूर्णिमा २०७६ मा लुम्बिनी भ्रमण वर्ष शुरु गर्ने तयारीमा रहेको मुख्यमन्त्रीले जानकारी गराउनु भयो । लगानी भित्र्याउन मिनी लगानी सम्मेलन गर्ने तयारीमा रहेको बताउंदै उनले प्रदेशको विकास र समृद्धिमा सबैको साथको अपेक्षा गर्नु भयो । प्रदेशको स्थायी राजधानी र नाम तोक्ने विषय प्रदेश सभाको अधिकार क्षेत्र भएकाले सडकमा बहस र विवाद गर्न उचित नहुने दोर्होर्याउनु भयो।
स्थायी राजधानी र नामाकरण गर्दा ठाउँ विशेषको आग्रहबाट मुक्त हुनुपर्ने भन्दै उहाँले जहाँ प्रदेश राजधानी हुन्छ, त्यहाँ मात्र विकास हुन्छ सोंचबाट पनि मुक्त हुन आग्रह गर्नु भयो । ‘समृद्धि राजधानी विशेषले ल्याउँछ भन्ने भ्रमबाट मुक्त हौं’ उहाँले भन्नु भयोे ‘हतारमा निर्णय गरेर पछुताउनुभन्दा ढिलो भए पनि सबैलाई स्वीकार्य हुने निर्णय गर्नुपर्छ ।’यो खबर अनलाइन खबरमा प्रकाशित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *