सांसद वलीको उपचारमा मुख्यमन्त्री पोखरेल चासो


बाँके । सडक दुर्घटनामा घाइते हुनु भएका प्रदेश नं. ५ का प्रदेश सभा सदस्य उत्तरकुमार वलीको काठमाण्डौमा उपचार भईरहेको छ । मुख्यमन्त्री शंकर पोखरेलले विहिबार दुर्घटनामा घाईते हुनुभएका दाङ्गबाट निर्वाचित प्रदेश सदस्य वलीको उपचारका लागि नेपालगन्ज हेलिक्प्टर पठाएर काठमाण्डौ लैजान पहल गर्नु भएपछि उहाँको उपचार विशेषज्ञ डाक्टर मार्फत भईरहेको छ । स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुग्नु भएका मुख्यमन्त्रीलाई उपचारमा संलग्न डाक्टरहरुले प्रदेश सभा सदस्य वलीको उपचारमा कुनै आलटाल नगरी आफुहरुले काम गरिरहेको मुख्यमन्त्रीलाई जानकारी दिएको मुख्यमन्त्रीका स्वकीय सचिब सरोज रेग्मी जानकारी दिनु भएको छ ।

तुलसीपुरबाट बीरगञ्जतर्फ जाँदै गरेको ना ५ ख ५५२९ नम्बरको यात्रुबहाक बस र बुटवलबाट तुलसीपुरतर्फ आउँदै गरेको सांसद वली चढेको बा १८ च ६८३६ नम्बरको कार बिहीबार पौने पाँच बजेतिर घोराही लमही सडकखण्डअन्तर्गत घोराही उपमहानगरपालिका ३ चिसापानीनजिकै ठोक्किँदा दुर्घटना भएको थियो ।

मुख्यमन्त्री पोखरेलको निर्देशनमा तत्काल उपचारका लागि नेपालगन्ज मेडिक कलेज कोहलपुरमा ल्याइएको थियो । नेपालगन्ज मेडिकल कलेज कोहलपुरका डाक्टरहरुको टीमले पहिलो चरणको उपचार पश्चात मुख्यमन्त्रीकै पहलमा शुक्रबार उहाँलाई हेलिकप्टर मार्फत थप उपचारका लागि काठमाण्डौ लगिएको थियो ।
प्रदेश सभा सदस्य वलीको उपचारका लागि प्रदेश सरकारले सहयोग गर्ने मुख्यमन्त्री पोखरेलले वताउनु भएको छ । उपचारका लागि जे जस्तो आवश्यकता पर्दछ ति सबै उपाय र प्रविधिको प्रयोग गर्न मुख्यमन्त्रीले डाक्टरलाई भन्नु भएको छ । कुनै पनि कसर नराखी उपचार गर्ने डाक्टरहरुलाई अनुरोध गर्नु भएको छ । मुख्यमन्त्रीले डाक्टरहरुसँग उपचारका विषयमा गहन चासो दिनु भएको छ ।

नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा सही समयमा, सही उपचार भएको छ, उपचारमा कुनै कमी भएको छैन, काठमाण्डौ स्थित मेडिसिटी अस्पतालका डाक्टरले जानकारी दिएको स्वकीय सचिब रेग्मीले जानकारी दिनु भयो । साथै काठमाण्डौबाट वलीलाई लिनका लागि आएको डाक्टरहरुको समूहले पनि उहाँको स्वास्थ्यलाई ध्यानमा दिएकोले उपचारमा सहज भएको काठमाण्डौका डाक्टरले वताएका छन् ।
मेडिसिटी अस्पतालका डाक्टरहरुको समूहले समस्याको पहिचान भएको र सोही अनुसारको उपचार भईरहेको स्वकीय सचिब रेग्मीले जानकारी दिनु भयो ।

उहाँको टाउकोमा गंम्भिर चोट लागेको छ । साथै करङ्ग पनि भाँचिएको प्रारम्भिक उपचारमा संग्लग्न नेपालगन्ज मेडिकल कलेज कोहलपुरका डाक्टरहरुले जानकारी दिएका छन् । उहाँलाई दुर्घटना भएको करिब २ घण्टामा नै नेपालगन्ज मेडिकल कलेज कोहलपुरका ल्याइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *