बाँकेमा पीपीआर रोगले १ हजार भन्दा बढी बाख्रा मरे


बाँके । बाँकेको डुडुवा गाउँपालिकामा पीपीआर विरुद्धको खोपको अभावमा बाख्रा मरेको खुलासा भएको छ । पीपीआर रोगविरुद्धको खोप नलगाएकै कारण संक्रमण फैलिएको डुडुवा गाउँपालिकाको कम्दी गाउँमा मात्रै एकहजार बढी बाख्रा मरिसकेका छन् ।
रोग परीक्षणको लागि सुर्खेतस्थित प्रयोगशालामा रगत परीक्षण पछि बाख्रामा फैलिएको रोग पीपीआर हो भन्ने पहिचान भएको डुडुवा गाउँपालिका पशु सेवा शाखाका संयोजक पशु चिकित्सक अशोक पाण्डेले जानकारी दिए । ‘सुर्खेतबाट रगतको परीक्षण भएर आएको छ, पीपीआरनै हो ।’–उनँले भने–‘ अव विरामी बाख्रालाई उपचार गर्दै अन्य सबै बाख्रालाई पीपीआर खोप लगाउछौँ ।’ प्रत्येकवर्ष पीपीआर विरुद्धको खोप सञ्चालन गरिने भएपनि यो वर्ष स्थानीय तहमै सेवा गएपछि खोप सञ्चालन हुन सकेको थिएन ।
खोप नभएकै कारण लगाउन नसकिएको चिकित्सक पाण्डेले बताए । भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र नेपालगन्जका प्रमुख डा.हरिबहादुर कुँवरले खोप नलगाएकै कारण पीपीआर फैलिदाँ धेरै बाख्रा मरेको उल्लेख गरे । रोगको पहिचान नगरी उपचार गरिरहँदा किसानले ठूलो क्षति व्यहोर्नुपरेको उनले बताए । रोगको पहिचान भए पनि रोगविरुद्ध लगाउनु पर्ने खोपको बाँकेमा अभाव छ । पीपीआर विरुद्धको खोप बजारमा किन्न समेत पाईदैन । डुडुवा गाउँपालिका पशु सेवा शाखाका संयोजक पशु चिकित्सक पाण्डेले तत्काललाई रोकथामको लागि सुर्खेतबाट खोप मगाईएको जानकारी दिए । डुडुवा गाउँपालिकामा मात्र १५ हजार बाख्रालाई पीपीआरविरुद्धको खोप लगाउन जरुरी भएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *