बजार नपाएपछि मकैसँग स्याउ साटिँदै

रुकुम । रुकुम पूर्वमा स्याउ उत्पादनमा बृद्धि भए पनि स्याउले बजार नपाउँदा किसान समस्यामा परेका छन् । गएको असोज महिनामै टिपिएका स्याउ बिक्री नभएको र कुहिएर सकिएको स्थानीयले गुनासो गरेका छन् ।

अहिले भने स्थानीयवासीले बिग्रन लागेका स्याउको सदुपयोग गरेका छन् । स्थानीयवासीले त्यसलाई रक्सी बनाउन र मकैसँग साट्न थालेका छन् । ढुवानी अनुदान नपाएपछि पुथाउत्तरगंगा गाउँपालिकाका विभिन्न ठाउँमा फलेको स्याउ बिक्री हुन नसकेको हो ।

पुथाउत्तररगंगा गाउँपालिकाको २ र १ नम्बर वडामा फलेका स्याउको रक्सी बनाउन सुरु गरिएको छ । स्याउ बिक्री नहुने पक्का भएपछि स्थानीयले स्याउको रक्सी बनाउन थालेका हुन् ।

अहिले २ नम्बर वडाको पेल्मा र १ नम्बर वडाको मैकोटलगायतका ठाउँमा किसानले स्याउ उत्पादन गरेका छन् । तर स्याउले बजार नपाउँदा किसानले स्याउलाई मकैसँग साट्न थालेका छन् । केही किसानले स्याउलाई रक्सी बनाउने कच्चा पदार्थको रुपमा प्रयोग गरेका छन् ।

स्याउ टिप्ने क्रममा ढुवानीमा अनुदान पाइने आशमा रहेका किसानहरुले अनुदान नपाएपछि स्याउको रक्सी बनाउन थालेका छन् भने कतिले मकैसँग स्याउ साट्न थालेको छन् । गाउँ कार्यपालिका सदस्य समेत रहेका पेल्मा निवासी स्याउ किसान जिताराम कामीका अनुसार तीन माना स्याउ बराबर एक माना मकै साटिने गरेको छ ।

स्याउ कुहिनुभन्दा स्याउ नफल्ने तथा कम फल्ने ठाउँतिरका स्थानीयसँग मकैसँग स्याउ साट्न सुरु गरेका छन् । यसका साथै मैकोट तथा पेल्मासम्म सडक नपुगेका कारण ढुवानी नै महंगो पर्ने भएकाले आफूहरुले स्याउ बिक्री गर्न नसकेको गुनासो उनको छ ।

गएको वर्ष प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाले ढुवानी अनुदान दिँदा एक सय २० क्विन्टल स्याउ बिक्री भएको थियो । यो वर्ष पनि ढुवानी अनुदानको आशमा बसेका किसानहरु स्याउ कुहिन लाग्दा समेत ढुवानी अनुदान नआएपछि स्याउबाट रक्सी र मकैसँग साट्न बाध्य भएका छन् ।

कति किसानले केही स्याउ बाग्लुङसम्म खच्चडबाट ढुवानी समेत गरेका थिए । खच्चडबाट ढुवानी गर्दा महंगो पर्ने भएकाले बुर्तिवाङतर्फ स्याउ पठाउन सम्भव नभएको कामीले बताए ।

‘स्याउ फलाइयो, बिक्री नभएपछि हामी समस्यामा छौं, स्थानीय सरकारले ठूलो अनुदान दिन सक्ने अवस्था छैन,’ कामीले भने, ‘संघीय र प्रदेश सरकारले माल भएर पनि चाल नपाएपछि हामी मारमा परेका छौं ।’

फलेका स्याउ बिक्री हुन नसक्ने भएपछि आफूहरु समस्यमा परेको स्याउ किसान लक्ष्मीप्रसाद पुन मगरले बताए । ‘स्याउ फलेकै थियो, स्याउ फल्ने बोट पनि बढेका थिए, तर बिक्री हुने सम्भावना नभएपछि स्याउ टिप्न वास्ता गरिन, स्याल, ओद र कागले खायो’, मगरले भने, ‘अलिअलि भएको स्याउ बाटो हिँड्ने मान्छेले खाए ।’ पुनले सरकारले ढुवानी अनुदान दिन सके पुथाउत्तरगंगा गाउँपालिकबाट धेरै स्याउ बाहिरिने र स्थानीयको जीवनस्तर पनि उकासिने जनाए ।

पुथाउत्तरगंगा गाउँपालिकाको १, २, ५, १० र ११ नम्बर वडामा धेरै स्याउका बोट छन् । त्यसका अलावा ६, ९, १२, १३ र १४ नम्बर वडाका विभिन्न ठाउँ मा पनि स्याउ लगाइएको छ । गाउँपालिकाभर ३० हजार बढी स्याउका बोट छन् । जसमा ३ हजार बढी स्याउ फल्न थालेका छन् ।

घरैपिच्छे स्याउका बोट लाउन थालिए पनि बजारसम्म पु¥याउन उपयुक्त माध्यम वा ढुवानी गर्न महंगो पर्ने हुँदा किसान चिन्तित छन् ।

-ujaaloonline

Leave a Reply

Your email address will not be published. Required fields are marked *