निर्मलाका हत्यारालाई पत्ता लगाउन प्रदेश सरकारले पहल गरिरहेको छ : मुख्यमन्त्री भट्ट


कञ्चनपुर । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाउन प्रदेश सरकारले सुरुदेखि नै पहल गरिरहेको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले बताएका छन् । बुधबार कञ्चनपुरबाट मुख्यमन्त्रीको कार्यालयमा ज्ञापन पत्र बुझाउन पुगेका अधिकारकर्मीलाई सम्बोधन गर्दै मुख्यमन्त्री भट्टले प्रत्यक्ष रुपमा प्रदेश सरकार निष्क्रिय जस्तो देखिएको भए पनि हत्यारा पत्ता लगाउन प्रदेश सरकारले केन्द्र सरकारलाई पहिलेदेखि नै दवाव दिँदै आइरहेको बताए।

अहिलेसम्म हत्यारा पत्ता नलाग्दा प्रदेश सरकार समेत दुखित बनेको भन्दै उनले ढिलो भए पनि दोषिलाई सजाय दिलाएरै छोड्ने बताए। प्रदेश सरकारको तर्फबाट गर्नुपर्ने सबै काम प्रदेश सरकारले गरिरहेको उनको जिकिर थियो । ‘कुनै पनि हालतमा अपराधी उम्किन हुँदैन’, मुख्यमन्त्री भट्टले भने, ‘पहुँचका आधारमा अपराधी बाँच्नु हुँदैन, कानुनी दायराबाट छुट्नु हुँदैन भन्ने कुरामा प्रदेश सरकार प्रष्ट छ ।’

अहिले निर्मला पन्त हत्या घटनाको केन्द्र सरकारले प्रत्यक्ष रुपमा अनुसन्धान अघि बढाएकोले घटनाको निष्पक्ष, स्वतन्त्र रुपमा जाँच हुनुपर्नेमा प्रदेश सरकारको जोड रहेको उनले बताए । निर्मलालाई न्याय दिलाउन कञ्चनपुरमा गरिएको आन्दोलनमा घाइते भएकाहरुको पनि समस्या बुझिरहेको र सोही अनुसार प्रदेश सरकारले काम गरिरहेको उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *