साइकिल यात्रा बाँके देखि नैनताल सम्म

म तराईमा जन्मे हुर्केकोले साइकल र यात्रा नङ्ग मासुको सम्बन्ध जस्तै हुनु स्वभाविक थियो । साइकिल चलाउन त कैचि साइकिल, मागेर साइकिल, आवश्यकताले साइकिल, रहरले, बाध्यताले यी र यस्तै अवस्थामा साइकिल र मेरोबीचको राम्रै चिनजान छ । केही समय पहिले देखि मैले स्वास्थ्यका लागि साइकिल मात्रै नभएर यात्राका लागि पनि साइकिल यात्रालाई अंगालेको छु । पहिलेको भन्दा अलि महंङ्गो, सुविधायुक्त यात्राको साथी साइकिल ।
यसपटक हाम्रो परिवारमा दशै ह्रर्ष उल्लासका साथ मनाउने अवसर थिएन । संयोगले मित्र गगन थापाको पनि यस बर्ष उस्तै रहेछ दशै । अनि हामीले यसपटकको दशै साइक्लिङ्ग मा रमाउने निधो गरी असोज २७ गते हामी साइकल यात्रामा निस्किएका थियौं अन्तरदेशिय साइकिल आत्रामा ।


पहिलो दिन
नेपालगन्ज देखि अत्तरिया सम्म हामी गाडीमा साइकल राखेर पुगे थियौं, त्यहाँ सुदुरपश्चिमका साइकल यात्री भरत शाहीको न्यानो स्वागत र चियापानसँगै उहाँले महेन्द्रनगरका लागि बिदाइ गर्नु भयो । महेन्द्रनगरमा गाडिबाट ओर्ले पछि हाम्रा खुट्टा मज्जाले पाइडल दबाउन लागे “सरोबरनगरी नैनिताल“ का लागि । जब गड्डाचौकी भारतीय बोर्डर पुगियो अनि शारदा ब्यारेज पार गर्दै बनबासा, खटिमा, नानकमत्ता, सितारगन्ज हुँदै राती ८ बजे औद्योगिक क्षेत्र सिट्कुल पुगि हामी होटल बिजुनेश इनमा बास बसियौ । हामी त्यो दिन काठगोदाम सम्म पुग्ने गरी हुइकिएका थिइउ तर बाटोमा पर्ने ३३ चोरगलियाको १८ किमि लामो जंगली बाटोका कारण हामीले सिट्कुलमै राती विश्राम गरेका थियौं ।


दोस्रो दिन
बिहानै हामीले सिट्कुलबाट पुनः साइकल यात्रा अघि बढाएर । ठाउँ ठाउँमा पानी खाजा खान रोकिदै अघि बढ्दै गर्दा साइकल हेर्न झुम्मिने र साइकलका बारेमा सोधपुछ गर्ने प्रसस्त भेटेका थियौं । जब साइकलको मुल्य सोधपुछ गर्थे अनि हामी ठाउँ अनुसार कहिँ परेको मुल्य भन्दा धेरै कम र कहिँ परेकै मुल्य भनिदिन्थ्यौं । अनि साइकल को मुल्य भनिदिदा कोहि जिब्रो टोक्थे भने कोहि अनेक थरी प्रश्न गरी हैरान पार्थे ।
काठगोदाममा खाजा खान रोकिदा एक ब्यापारीले प्रश्न गरिहाले क्यु नेपाल भारत से ज्यादा चाइना के तरफ झुका हुवा हे? मैले सजिलोसँग जवाफ दिए तिम्रो पिएम मोदिजिले नेपाल माथी लगाएको नाकाबन्दी र बडेभैयाको रवाफले अहिले धेरै नेपाली मन हिन्दुस्तानको नेतृत्वसँग नाराज छ, अनि हामी हाम्रा दुबै छिमेकी प्रती समान व्यबहार गर्छौ । चाइना र हिन्दुस्तान दुबै हाम्रालागि बराबर । उनले मलाई लामै लेक्चर दिए हामीले स्यान्डुइच खाउन्जेल । त्यसपछिमाथी उक्लिदै गर्दा रुद्रपुरका साइक्लिस्ट रहुल सुद भेटिए हामीसँग । राहुल जिसँग केही मीठो गफगाफ र परिचयसँगै केही क्षण छोटो साइक्लिङ्ग गरियो उनले दिएको फ्रुटी खाइयो अनि उनले त्यहीँबाट हामीलाई बिदाइ गरे।
कस्टकर उकालो काट्न जबर्जस्त पाइड्ल मार्दै हामी गन्तव्य चुम्न उत्साहित हुँदै अघि बढी रहदा समुद्री सतहबाट २३ सय मिटर माथी रहेको नैनितालले हामीलाई चुनौती दिइ नै रहेको थियो । हिम्मत साथ हामी अघि बढिरहदा अर्का साइकले युवा हल्द्वानी निवासी रजत पाण्डेय भेटिए । सारै मिजासिला उर्जावान युवा रजत भर्खर १८ वर्ष टेकेका रहेछन् । उनी हल्द्वानी देखि नैनितालसम्म को ४२ किमिको ठाडो उकालो दिनहुँ बिहान पाइडल मार्ने रहेछन । हामीलाई ६ घण्टा पार गर्न लागेको उकालो उनी २ घण्टामा नै पार गर्ने गर्दा रहेछन ।
अनि गगन जिले उनको नाम राखिदिनु भो “माउन्टेन ब्वाइ“ १०६ किलोको अजङ्ग शरीर उनले साइकल कुदाएरै १८ महिनामा ६० केजीमा झारेको बताए ।
जब रातिको करिब ७ः१५ पछि हाम्रो साइकलका पाङ्ग्राले नैनिताललाइ स्पर्श गरे त्यो ठाडो उकालो तान्दाका सारा कष्ट क्षणभरमै बिर्सिएका थियौ । अनि पहिलो क्लिक रात्री कै अवस्था मा लिइउ । खुसिको त सिमा नै रहेन । रजत पाण्डे भाइले परिचय गराइदिएका नैनितालका पर्यटन व्यवसायी साइक्लिस्ट एबम समाजसेवी शैलेन्द्र शाह जिको होटल शिलामा हामी बस्यौं । कोठामै नैनितालको आनन्द ठ्याक्कै अगाडी नैनिताल । त्यो रात शैलेन्द्र जिसँगको भेट भएन ।


तेस्रो दिन
भोलिपल्ट बिहानको चियासँगै उहाँसँग भेट भयो । साह्रै सरल र मिजासिला हुनुहुदो रहेछ । नैनिताल र त्यस वरपरका सन्दर्भमा उहाँबाट जानकारी लिइयो अनि उहाँले आफ्नो अर्को रिसोर्टमा लन्चको निम्तो दिदै बिहानको राइड अझै माथी डाडा सम्म आउन सुझाउनु भयो हामीले त्यसै गरेयौं । हिमालय दर्शन प्वाइन्ट सम्म पुगेउ जुन ठाउँ नैनिताल भन्दा निक्कै माथी थियो चाइना पिक भन्दा केही तल । त्यहाँ पुगेर मुनिको नैनिताल र बजारलाई नियाल्यौं, अनि त्यहाँबाट देखिने उत्तरका हिमालको नजारा बास्तवमै मनमोहक, सुन्दर थियो । त्यहाँको भब्यतम प्राकृतिक छटा आहा ! अहिले सम्झिदा नि मन प्रफुल्लित हुन्छ । त्यति घुमिफिरी फेरि हामी शैलेन्द्र जिको रिसोर्ट लन्चका लागि पुग्दा उहाँ त्यहाँ पुगिसक्नु भएको रहेछ । केही सन्याप फोटो सम्झानाका लागि उहाँसँग खिचियो । केही बेर रुममा आराम गरी खाना खाएयौं । मैले खाना पछिको गफमा उहाँलाई नेपाल बारे केही बताए अन्नपूर्ण पदयात्रा , बर्दिया राष्ट्रिय निकुञ्ज भ्रमणको निम्तो नि दिए । अनि फेरि हामी तल नैनितालका लागि झरेयौं । त्यही दिन दिउँसो हामी फर्किन खोज्दै थिएयौ, तर शैलेन्द्र जिको आग्रह टार्न सकेनौ । त्यो रात पनि पुनः उहाँकै होटल शिलामा बिताएयौ ।
चौथो दिन
बिहानै हामी फ्रेस भएर तयार भएयौं अनि हाम्रो बसाई र खानपानको बिल माग्यौं शैलेन्द्र जि मुस्कुराउदै हामीलाई हेर्नु भयो र पैसा लिन मान्नु भएन । पहिलो भेट र चिनजानमा नै यति धेरै आत्मीय आतिथ्यता र स्वागत पाउँदा हामीले साइकले भएकोमा गर्व गर्यौ । अनि शैलेन्द्र जि लाई दुई दिनको निःशुल्क हस्पिटालिटिका लागि धन्यवाद दिदै फेरि भेटिने गरी पुनः नेपाल भ्रमण को निम्तो दिदै बिदा भएयौं ।
साइकिल यात्रा आफैमा रमाईलो र नयाँ अनुभव त थियो नै अझ दृष्यावलोकनले यस वर्षको दशैको अवसरलाई धन्य भयौं ।
सतिश निरौलाको संस्मरण

Leave a Reply

Your email address will not be published. Required fields are marked *