सबैको हालेमालोले नरैनापुरको मुहार फेर्न सकिने एक कार्यक्रमका सहभागिको भनाई


बाँके । बाँकेको नरैनापुरमा प्रशासन र स्थानीयबीच अन्तरसम्बन्ध विषयक अन्तरक्रिया कार्यक्रम भएको छ । जिल्ला प्रशासन कार्यालय बाँके र नरैनापुर गाउँपालिका कार्यालयको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले विकासमा पछाडि परेको नरैनापुरको मुहार फेर्न सबैले हातेमालो गर्दै अघि बढ्नुपर्ने आवश्यकता औंल्याएका थिए ।

प्रशासन र स्थानीयबीच सुमधुर सम्बन्ध कायम गर्दै नरैनापुरलाई शान्त, समृद्ध र विकसित बनाउन लाग्नुपर्नेमा सबैको जोड थियो । प्रदेश सभा सांसद् कृष्णा केसी नमुनाले आफू निर्वाचित भएदेखि नै नरैनापुरको विकासका लागि दत्तचित्त भएर लागेको बताउँदै अब चैतभित्रै बघौडामा विजुली बल्ने विश्वास दिएकी छन् ।

प्रमुख जिल्ला अधिकारी मदन भुजेलले बघौडा क्षेत्रमा शान्ति सुरक्षा कायम राख्न संवेदनशील भएको बताउँदै स्थानीय र प्रशासनबीचको सुमधुर सम्बन्धले हार्दिकता बढाउने बताए। गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले बघौडाको विकासका लागि गुरु योजना बनाएर अघि बढ्ने तयारीमा आफूहरु रहेको भन्दै विकास र समृद्धिका लागि सबै जना पार्टीगत स्वार्थभन्दा माथि उठ्नुपर्ने बताए ।

उनले गाउँपालिकाका समस्याबारे पनि अवगत गराए । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले सहजीकरण गरेको अन्तरक्रिया कार्यक्रममा गाउँपालिका उपाध्यक्ष जयन्तिदेवी श्रीवास्तव, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरिक्षक अरुण पौडेल, सशस्त्र प्रहरी बल ३० नम्बर गण बाँके हेडक्वाटर महेन्द्रनगरका प्रहरी उपरिक्षक भेष बहादुर शाह, नेपाल पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष ठाकुरसिंह थारु लगायतले बोलेका थिए । कार्यक्रममा वडा अध्यक्ष, कार्यपालिका सदस्य, विभिन्न राजनीतिक दलका प्रतिनिधि, स्थानीय लगायतको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *